सोलुखुम्बुको नेचासल्यान र सोताङ जोड्ने २ सडक कालोपत्रे हुने
सोलुखुम्बु – सातै प्रदेशका २१० सडक क्षेत्रलाई स्थानीय तहको केन्द्रसम्म जोड्ने सरकारको महत्वकांक्षी योजना अन्तर्गत सोलुखुम्बुको नेचासल्यान र सोताङ जोड्ने २ ग्रामिण सडक पनि छनौटमा परेको छ ।
सरकारको योजना अनुसार तिङ्ला – रमिते – बरडाडा – खाल्पा– दोदी– खहरे– नाम्लो हुँदै नेचा बिहिबारेसम्मको प्रादेशिक सडक कालोपत्रे हुनेछ । त्यस्तै, थुलुङ दुधकोशी गाउँपालिकाको देउरालीदेखि रोक्ती–बुढीडांडा हुँदै सोताङ गाउँपालिकाको केन्द्रसम्मको सडक पनि कालोपत्रे योजनाको सूचीमा रहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रादेशिक एवं स्थानीय सडक निर्माण सुधार कार्यक्रम अन्तर्गत सडक सुधार योजनासम्बन्धी सम्झौतामा आइतबार १ नं प्रदेश मुख्यमन्त्रीको कार्यालयमा सम्झौता सम्पन्न भएको छ ।
आयोजना कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको कार्यविधिअनुसार १० किलोमिटरसम्मको सडक निर्माणका लागि संघीय सरकारले ६५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले २५ प्रतिशत योगदान गर्नेछन् । १० किलोमिटरदेखि २० किलोमिटरसम्म लम्बाई भएका सडक निर्माणमा संघले ७० प्रतिशत, प्रदेशले १० प्रतिशत र स्थानीय तहले २० प्रतिशत योगदान गर्नेछन् ।
२० किलोमिटरभन्दा लामो सडक बनाउन संघीय सरकारले ७५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले १५ प्रतिशत रकम साझेदारी गर्नेछन् ।