एक महिनामै दुई मोटरेवल पुल निर्माण
सोलुखुम्बु । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ मा २८ दिनमै दुई वटा मोटरेवल पुल निर्माण गरिएको छ ।
मंसिर १० गते शिलान्यास गरिएको मोटरेवल पुलको काम २८ दिनमा सम्पन्न भएको बेनी हाइड्रोपावर प्रोजेक्टका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले जानकारी दिए ।
बेनी हाइड्रोपावर सोलुदूधकुण्ड नगरपालिका–२ gको उद्घाटन गरिएको जनसम्पर्क अधिकृत शेर्पाले बताए । इडिङबासा खोलामा रु ६८ लाख ३६ हजार २ सय ३७ को लागतमा १३ मिटर लम्बाइ र पाँच मिटर चौडाइको पुल निर्माण गरिएको कम्पनीले जनाएको छ । यस्तै मिन्जुङ खोलामा रु ११ लाख ९९ हजार १५८ मा तीन मिटर लम्बाइ ४.६ मिटर चौडाइको निर्माण गरिएको बताइएको छ ।
उक्त पुलको क्षमता ३० टन रहेको निर्माण कम्पनीले जनाएको छ । नवनिर्मित पुलको उद्घाटन सेरलो गुम्बाका प्रमुख धर्मगुरु पेमा थार्चेन रेम्पोच्छेले गरे । हिमालय बौद्ध विद्यापीठ सेर्लोले आयोजना गरेको उक्त कार्यक्रममा सयौँ स्थानीयको उपस्थिति थियो । बेनी हाइड्रोपावर कम्पनीले सामाजिक उत्तरदायित्व शीर्षकको बजेटबाट निर्माण गरेको पुल गुणस्तरीय भएको स्थानीयको प्रतिक्रिया छ । छोटो समयमा गुणस्तरीय काम हुनु स्थानीयको लागि खुशीको कुरा रहेको उनीहरूको भनाइ छ ।
सामाजिक उत्तरदायित्वको बजेट कम भए पनि स्थानीयको मागअनुसार आफूले काम गरिहेको बेनी हाइड्रोपावरले जनाएको छ । पुल, सडक र बिजुली बत्तीको क्षेत्रमा आफूहरूले काम गरेको कम्पनीका अधिकृत शेर्पाको भनाइ छ । सोलु खोलामा निर्माणाधीन बेनी हाइड्रोपावर १९ मेगावाटको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।