Logo

नेदरल्यान्ड्स विरुद्ध नेपालको सानदार जित : कुशल र आशिफको उत्कृष्ट ब्याटिङ


काठमाडौं : नेदरल्याण्डस्, नेपाल र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गतको आजको पहिलो खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ९ विकेटको सानदार जित निकालेको हो।

नेपालले टस जितेर नेदरल्याण्डलाई ब्याटिङको निम्ता दिएको थियो। नेदरल्याण्ड्सले नेपाललाई १३७ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेल्दै नेपालको पारी उकासे। नेपालले १५ औं ओभरको समाप्तीमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६४ रन बनाउँदा आशिफ शेख ५४ रनमा अभिजित रहे। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल १३ रनमा अभिजित रहे।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्याण्डसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदे १३७ रन बनाएको थियो।

सुरुवाती ब्याटिङमा उत्रिएका नेदरल्याण्डसका म्याक्स वो’डोउडलाई १.६ ओभरमा सन्दीप लामिछानेले आउट गराए भने २.४ ओभरमा सोमपाल कामीले बेन कुपरलाई एलबीडब्लु आउट गराउँदा नेदरल्याण्डस् सुरुमा दवाबमा आएको थियो। यद्यपि, नेदरल्याण्ड्सको ब्याटिङ स्कोर एडवार्डस र बस डे लीडेले सम्हाल्दै ६१ रनको साझेदारी गरे। एडवार्डस ३० रन बनाउँदै शाहब आलमको बलमा आरिफ शेखबाट क्याच आउट भए। त्यस्तै ४१ रन बनाएका लीडे सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए।

त्यस्तै, नेदरल्याण्डस् का कप्तान पिटर सेलरले अभिजित २२ रन बनाउँदा एन्टोनियस स्टालले २० रन बनाए। भोलि हुने खेलमा नेदरल्याण्ड्स र मलेशिया भिड्नेछन्।

प्रकाशित मिति : शनिबार, ४ बैशाख २०७८ १६:४२
प्रतिक्रिया दिनुहोस्