थुलुङ दुधकोशीलाई साक्षर गाउँपालिकाको रुपमा घोषणा !
सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकालाई साक्षर गाउँपालिकाको रुपमा घोषणा गरिएको छ । शनिबार संघीय हेमकुमार राई (सुरवीर) र गाउँपालिका अध्यक्ष असिम राईको उपस्थितीबीच मुक्लीमा आयोजित एक विशेष समारोहबीच साक्षर गाउँपालिका घोषणा गरिएको हो ।
२०७६ सालको शिक्षा समितिको निर्णय अनुसार विद्यालय मार्फत सर्वेक्षण गर्दा ९१६ जना निरक्षर रहेको पाईएको थियो । गत वर्ष साक्षरता कक्षा सञ्चालन गरि उनिहरुमध्ये ९०२ जना साक्षर भएपछि साक्षर घोषणा गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
नेपाल वर्ष २०७६ अवधारणा अन्तर्गत तोकिएका उमेर समुहका ९५ प्रतिशत नागरिक साक्षर भएको अवस्थामा घोषणा गर्न मिल्ने प्रावधान रहेकाले सोहि बमोजिमा घोषणा गरिएको गाउँपालिकाका प्रवक्ता भुपाल सिंह राईले जानकारी दिनुभयो ।
‘संघीय गणतन्त्र नेपाल प्रदेश नम्बर १, सोलुखुम्बु जिल्ला थुलुङ दुधकोशी गाउँपालिकाको कुल जनसंख्या १९६७२ (जनगणना २०६८) र थुलुङ दुधकोशी गाउँपालिकाको वस्तुगत विवरण (पाश्र्वचित्र) २०७७ अनुसार २२३७५ मध्ये निरन्तर साक्षरता कक्षा सञ्चालन पश्चात २०७६ सालमा गाउँ शिक्षा समितिको बैठकको निर्णयअनुसार विद्यालयमार्फत सर्वेक्षण गर्दा १५ देखि ६० वर्ष उमेर समुहका ९१६ जना निरक्षर जनसंख्या देखिएको र आर्थिक वर्ष २०७६ ०७७मा सञ्चालित साक्षरता कक्षा मार्फत जम्मा ९०२ जना सहभागिहरु साक्षर गराइएकोले स्वीकृत साक्षर नेपाल वर्ष २०७६ अवधारणापत्रअनुसार गाउँपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने तोकिएका उमेर समुह ९५ प्रतिशत जनसंख्या साक्षर भएको अवस्थामा साक्षर भएको घोषणा गर्ने प्रावधानअनुरुप कुल जनसंख्याको ९५ प्रतिशतभन्दा माथि ९८.५० प्रतिशत साक्षर देखिन आएकोले यो थुलुङ दुधकोशी गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ’ घोषणा पत्रमा उल्लेख छ ।
उक्त घोषणा पत्रमा सांसद हेमकुमार राई (सुरबीर), गाउँपालिका अध्यक्ष असिम राई र प्रमुख प्रशासकीय अधिकृत नवदीप राईले हस्ताक्षर गर्नुभएको छ ।