११औं राष्ट्रपति रनिङ शिल्डका लागि सोलुखुम्बुमा खेलाडी छनोट प्रतियोगिता सुरु
सोलुखुम्बु : ११औं राष्ट्रपति रनिङ शिल्ड अन्तर मा.बि. खेलाडी छनोट प्रतियोगिता सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सुरु भएको छ । प्रदेश स्तरीय प्रतियोगितामा सहभागिताका लागि जिल्ला स्तरीय खेलाडी छनोट प्रतियेगिता आईतवारदेखि सल्लेरीस्थित जिल्ला समन्वय समितिको प्राङगणमा सुरु भएको हो ।
संघीय सांसद हेमकुमार राई (शुरबीर)ले उद्घाटन गर्नुभएको उक्त प्रतियोगितामा थुलुङ दुधकोशी गाउँपालिका , सोलुदुधकुण्ड नगरपालिका , सोताङ, महाकुलुङ र माप्य दुधकोशी गाउँपालिकाको सहभागिता रहेको छ ।
प्रतियोगितामा महिला पुरुष भलिबल प्रतियोगिता, महिला पुरुष कबड्डी प्रतियोगिता, एथ्लेटिक प्रतियोगिता, मार्सल आट्स प्रतियोगिता, कराते र तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने जिल्ला खेलकुद बिकास समितिले जनाएको छ । आइतबारबाट सुरु भएको प्रतियोगिता आगामी ७ गते सकिने छ ।
संघीय सांसद राई जिल्लाको सबै स्थानीय तहमा खेलग्राम निर्माण गर्नका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य बुद्धीकुमार राजभण्डारी, सोलुखुम्बु जिल्ला समान्वय समिति प्रमुख वीरकुमार राई, थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राई, एमाले जिल्ला सचिब शिशिर खालिङलगायतको उपस्थिति रहेको थियो ।