सगरमाथा आरोही खालिङ र मगर राप्छाभूमि विकास क्लबद्धारा सम्मानित, थप विभिन्न अवार्ड घोषणा
सोलुखुम्बु । कोरोना कहरको बीचमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल आरोही पञ्चे खालिङ र टेकबहादुर खालिङसँगै सानो उमेरमा सगरमाथा आरोहण गर्ने आरोही नर्विन मगरलाई सम्मानित गरिएको छ । राप्छाभूमि विकास क्लब (आरबीसी)को शनिबार सम्पन्न प्रथम वार्षिक साधारण सभा समारोहबीच उहाँहरुलाई सम्मानित गरिएको हो ।
राप्छामा जन्मिएर आफ्नो क्षेत्र समुदायको मात्रै नभई सिंगो मुलुकको पर्यटन प्रवद्र्धन र विकासमा योगदान पुर्याएबापत क्लबले उहाँहरुलाई दोसल्ला तथा सम्मानपत्रद्धारा सम्मानित गरेको हो ।
विगत लामो समयदेखि पर्वतारोहण पर्यटन क्षेत्रमा सक्रिय पञ्चे खालिङले २०७८ जेठ १० गते विहान ९:३० बजे चुचुरो चुम्न सफल हुनुभएको थियो । पर्यटन क्षेत्रसँगै उहाँ सामाजिक सेवामासमेत सक्रिय हुनुहुन्छ । उहाँले पछिल्लो समय आफ्नै गाउँमा शिक्षा क्षेत्रको लागि विदेशी प्रोजेक्टहरु ल्याएर योगदान पुर्याइरहनु भएको छ ।
त्यस्तै पर्वतारोहण क्षेत्रमा नाम कमाइसक्नुभएका अर्का आरोही टेक बहादुर खालिङले २०७८ जेठ १७ गते विहान ८:४५ बजे शिखरमा पाइला राख्नुभएको थियो भने नर्विन मगरले २०७५ जेठ ४ गते विहान ६:२५ मा शिखर चुमेर मगर समुदायकै सबैभन्दा कान्छो आरोहीको रेकर्ड कायम गर्नुभएको थियो ।
विभिन्न विधामा योगदान पुर्याउने प्रतिभाशाली व्यक्तित्वहरुलाई सम्मानित गर्ने कार्यको सुरुवात गरिएको र सोहीबमोजिम आरोहीहरुलाई सम्मान गरेको क्लबका अध्यक्ष प्रदिप राईले बताउनुभएको छ । आगामी दिनमा सम्मानको दायरालाई बढाउँदै नमुना ग्रामिण कृषि, सरसफाईका साथै शैक्षिक, खेलकुद, शीप तथा प्रतिभावान व्यक्तित्वहरुलाई समेट्नेगरी अवार्ड घोषणा गरिएको जानकारीसमेत उहाँले दिनुभयो ।
माप्य दुधकोशी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष तेजबहादुर थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा क्बलका सल्लाहकारसमेत रहनुभएका शिखरपोष्टका अध्यक्ष प्रकाश खालिङ, बासाखाली माविका निमित्त प्रधानाध्यापक मानबहादुर राई, दिपेन्द्र आदर्श आविका प्रधानाध्यापक कुमार राई, समाजसेवी अर्जुन खालिङ, वडा सदस्य चन्द्र बहादुर राईलगायतले क्लबको सफलताको शुभकामना व्यक्त गर्दै सम्मानित आरोहीहरुलाई बधाई ज्ञापन गर्नुभयो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानीय तह सरकारबाट विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिदै त्यसमा क्लबले समन्वय र सहजीकरणको भूमिका खेल्नुपर्ने आवश्यकता औल्याएका थिए ।