Logo

सोलु कोरिडोर प्रसारण लाइनको काम एक सातामा सुचारु गरिने


काठमाडौं । उदयपुरको कटारी नगरपालिका–४, मरुवाका स्थानीयबासीले मुआब्जा नबुझ्दा रोकिएको १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन आयोजनाको काम अबको एक सातामा सुरु गरिने भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार नेपाल विद्युत प्राधिकरणलाई गत असोज २२ गतेदेखि प्रसारण लाइनको काम सुचारु गर्न बाटो खुले पनि स्थानीयबासीले धानबाली उठाउन समय मागेकाले एक सातापछिबाट सुचारु गर्न लागिएको हो ।

प्रसारण लाइन विरुद्ध परेको रिटमा सवोच्चले असोज २२ गतेभित्र स्थानीयले मुआब्जा लिइसक्नु पर्ने र लिन नआएमा प्राधिकरणले काम सुचारु गर्न पाउने फैसला गरेको थियो । सर्वोच्चको फैसलापछि मरुवाका स्थानीयबासी मुआब्जा लिन राजि भएको आयोजना प्रमुख जनार्दन गौतमले बताए ।

‘अदालतको आदेश अनुसार त हामीले असोज २२ गतेबाटै काम सुचारु गर्न पाउने भएका थियौं,’ उनले भने, ‘खेतमा लगाएको धानबाली उठाउन समय मागेकाले मानवियताका आधारमा पनि उहाँहरूको आग्रह मानेर केही ढिलो गरी काम थाल्दैछौं ।’ उनले स्थानीयले अब प्रहरी प्रशासनको उपस्थिती बिना नै प्रसारण लाइनको काम अघि बढाउन दिने प्रतिबद्धता जनाएको बताए ।

आयोजनाको तर्फबाट मुआब्जा निर्धारण गरी स्थानीयबासीलाई वितरण गर्ने सबै प्रक्रिया पूरा गरिसकेको र स्थानीयले पनि मुआब्जा लिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको गौतमले जानकारी दिए । स्थानीयबासीले प्रसारण लाइन आयोजनाको रुट परिपवर्तन हुनु पर्ने भन्दै प्रसारण लाइन बिरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

स्थानीयले दायर गरेको मुद्दामा गत साउन ३२ गते सर्वोच्चले असोज २२ गतेभित्र स्थानीयबासीले मुआब्जा लिइसक्नु पर्ने र नलिएको अवस्थामा निर्माण सुचारु गर्न पाउने गरी अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि प्रसारण लाइनको अवरोध हटेकाले निर्माण सुचारु भएको न्युनतम बढीमा २ महिनाभित्र प्रसारण लाइनको सबै काम सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिने उनले बताए ।

सर्वोच्चको आदेश आउनुअघि प्रहरी प्रशासन परिचालन गरी स्थानीयले अवरोध गरेको रुटमा काम भइरहेको थियो । मरुवा क्षेत्रमा स्थानीयबासीले रुट परिवर्तनको माग राखेर १० वटा टावरको काम रोकेका थिए । ती मध्ये प्रहरी सुरक्षा घेरामा ६ वटाको निर्माण सम्पन्न गरिसकिएको छ । अब ३ वटाको काम मात्रै बाँकी छ ।

प्रसारण लाइनको टावर निर्माण गरी तार तान्ने काम सम्पन्न गरेर बढीमा २ महिनाभित्र प्रसारण लाइन सञ्चालनमा ल्याउने गौतमले बताए । मरुवाबाहेको रुटमा प्रसारण लाइनको टावर निर्माण तथा तार तान्ने काम सम्पन्न भइसकेको छ ।

यो प्रसारण लाइन समयमा सम्पन्न हुन नसकेकै कारण २३।५ मेगावाटको सोलुखोला जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । सोलुको १७ मेगावाट विद्युत खेर गइरहेको छ । हिउँदमा सबै उत्पादन प्रणालीमा जोडिए पनि बर्खाको विद्युत खेर गइरहेको छ ।

निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु र १९.८ मेगावाटको माथिल्लो सोलु , ८६ मेगावाटको सोलु दूधकोसी लगायत आयोजना पूरा हुने चरणमा पुगेका छन् । यी आयोजना विद्युत उत्पादनको चरणमा पुग्न लागेकाले प्रसारण लाइन चाँडै सम्पन्न गर्नु पर्ने दवाब प्राधिकरणलाई छ ।

सोलु र तल्लो सोलु सुपर सिक्स अन्तर्गत सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिएका जलविद्युत आयोजना हुन् । सोलु बेसिनमा अहिले तल्लो र माथिल्लो सोलु, सोलु दूधकोसीसँगै ५ मेगावाटको जुनबेंसी आयोजना पनि निर्माणाधीन छ ।

urjakhabar

प्रकाशित मिति : सोमबार, ८ कार्तिक २०७८ १५:१२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ