Logo

असिम राईको राजनीतिक छलाङः ८ वर्षमै माओवादी केन्द्रको जिल्ला सदस्य हुँदै अध्यक्षमा निर्वाचित


को हुन् राई ?

सोलुखुम्बु, ११ माघ – नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) सोलुखुम्बु जिल्लाको अध्यक्षको जिम्मेवारी सशक्त यूवा नेता असिम राईलाई दिइएको छ । मंगलबार सम्पन्न पार्टी प्रदेश नम्बर १ को दोस्रो पूर्ण बैठकले राईलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

विसं २०६३ सालबाट सक्रिय राजनीतिमा होमिनुभएका राई २०७० सालमा पार्टीको जिल्ला कमिटी सदस्य बनेपछि पार्टीभित्र सशक्त भूमिका निर्वाह गर्दै नेताकार्यकतामा उर्जा भर्ने नेतृत्वका रुपमा आफुलाई उभ्याउँदै आउनुभएको थियो । माओवादी केन्द्र र एमाले एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला सचिवालय सदस्य बन्नुभएका उहाँ पछिल्लो पटक माओवादी केन्द्रको जिल्ला सचिव हुँदै प्रदेश नम्बर १ को सम्मेलनबाट प्रदेश समिति सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यसअघि जिल्ला सचिवको रुपमा काम गरिसक्नुभएका असिम राई समकालिन राजनीति बृत्तमा निक्कै लोकप्रिय नाम हो । नेपाली कांगे्रसको गड मानिने जिल्लाकै थुलुङ दुधकोशी गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएपछि एकपछि अर्को उदाहरणीय काम गरेर आफ्नो राजनीतिक उचाई बढाउदै आउनुभएका राई जिल्लामा मात्रै नभएर समग्र मुलुक भरकै स्थानीय तह प्रमुखहरुमध्ये चर्चाको शिखरमा रहदै आउनुभएको छ ।

विसं २०४० सालमा बुवा रणध्वज राई र आमा देबधनी राईको कोखबाट सोलुखुम्बु जिल्लाको पञ्चनमा जन्मिनुभएका राईले गाउँकै कालिकादेवी मावि, पञ्चनबाट एसएलसी गर्नुभएको थियो । उच्च शिक्षा हासिल गर्नका लागि राजधानी काठमाडौं आएर पब्लिक यूथ क्याम्पसमा भर्ना हुनुभयो । पछि संकरदेव क्याम्पसबाट उहाँले एमबीए गर्नुभयो ।

एक्सन ओरेन्टेड स्वभावका राईको भाषण कला निक्कै अब्बल छ । त्यसोत पार्टी पंक्तिमा प्रशिक्षण वा कुनै पनि कार्यक्रमको प्रमुख वक्ताको रुपमा उहाँको माग निक्कै हुने गरेको छ । सबैलाई समेटेर लैजाने र स्पष्ट भिजन दिन सक्ने नेतृत्व क्षमता भएका राईबाट पार्टीको विरासतलाई जोगाउँदै अबको पुस्तालाई नयाँ उचाईबाट अविभावकत्व प्रदान हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : मंगलवार, ११ माघ २०७८ २०:५२
प्रतिक्रिया दिनुहोस्