लुक्ला जाने जहाज रामेछापबाट उड्नुपर्ने
काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थल जाने जहाजहरु शनिबारदेखि रामेछापस्थिति मन्थली विमानस्थलबाट उड्नु पर्ने भएको छ ।
दुर्गम भेगका विमानस्थलमा उडान गर्ने तीन वटा वायुसेवा कम्पनी तारा एयर, सीता एयर र समिट एयरलाई एक/एक वटा मात्र जहाज टाइट स्टप काठमाडौंमा राखेर अन्य जहाज रामेछाप राख्न निर्देशन दिइसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
सिटौलाका अनुसार अब ती वायुसेवा कम्पनीका जहाजले काठमाडौंबाट दैनिक एक/एक वटा मात्रै उडान गर्न पाउने छन् । अन्य उडान भने रामेछापबाटै गर्ने गरी निर्णय भएको उनले बताए ।
यसअघि अघिल्लो साता पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले रामेछाप विमानस्थलको अनुगमन गरेको थियो ।
यो विमानस्थलबाट कोभिड-१९ अगाडि लुक्लाका लागि नियमित उडान तोकिएको थियो । त्यसपछि भने काठमाडौंबाटै उडान गर्न थालियो । बिहानको समयमा काठमाडौंको आकाशमा हुने हवाई ट्राफिक जाम कम गर्न प्राधिकरणले लुक्लाको उडान रामेछाप पठाएको हो ।