Logo

खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटकबाट उठायो ३ करोड भन्दा बढी प्रवेश शुल्क !


सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबाट ३ करोड बढी राजस्व संकलन गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको हाल सम्म प्रवेश शुल्कबाट ३ करोड ६२ लाख ७ हजार राजश्व संकलन गरेको हो ।

चालु आर्थिक बर्षको मंसिर २० गते सम्ममा १५ हजार ३ सय १३ पर्यटकहरु खुम्बु भित्रिएको गाउँपालिकाको तथ्यांक छ । जसमा साउन महिनामा २ सय ३ जना, भदौमा ६ सय ६१ जना, असोजमा ५ हजार ६ सय २९ जना, कार्तिकमा ७ हजार ७ सय ८६ जना र मंसिर १५ गते सम्ममा १ हजार ३४ जना विदेशी पर्यटकले खुम्बु भ्रमण गरेका छन् ।

पालिकाले प्रति विदेशी पर्यटक २ हजार रुपैयाँ शुल्क लिने गरेको प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद चापागाईले जानकारी दिए । उक्त शुल्क गाउँपालिकाको राजस्व खातामा दाखिला हुने अधिकृत चापागाईले बताए ।

१० वर्ष भन्दा कम उमेरका, कुटनितिक नियोगका व्यक्तिहरु तथा नेपाल सरकारबाट निर्णय भएर खोज तथा अनुसन्धानमा आएका व्यक्तिहरुलाई शुल्क नलाग्ने गाउँपालिकाले जनाएको छ ।

मुलुक संघियतामा गएसँगै २०७४ सालमा पहिलो पटक स्थानीय सरकारले निर्णय गरेर पर्यटकहरुबाट पालिकाले छुट्टै राजस्व संकलन गर्न थालिएको हो । सगरमाथा क्षेत्र भ्रमण गर्न आउने विदेशीहरुलाई सगरमाथा राष्ट्रिय निकुन्जले पनि शुल्क लिने गरिएको छ ।

@himalsamachar

प्रकाशित मिति : शुक्रबार, २३ मंसिर २०७९ १४:२६
प्रतिक्रिया दिनुहोस्