Logo

यस्ता छन् विश्वकपको सेमिफाइनल पुगेका चार टिम


काठमाडौं । आइतबार अन्तिम क्वार्टरफाइनलमा साविक विजेता फ्रान्सले इङ्ल्यान्डको चुनौती २–१ ले पन्छाएसँगै कतारमा जारी फिफा विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ ।
विश्वकपको अन्तिम चार टोलीमा सदाबहार दाबेदार अर्जेन्टिना र फ्रान्ससँगै पछिल्लो समय विश्व फुटबलमा उदाउँदै गरेको क्रोएसिया र अप्रत्यासित नतिजासहित ‘जायन्ट किलर’ को रूपमा उदाएको मोरक्को छन् ।
सेमिफाइनल पुग्ने चार टिममध्ये दुईले यसअघि उपाधि उचालिसकेका छन् । बाँकी दुई क्रोएसिया र मोरक्कोले उपाधि जित्न सकेका छैनन् । मोरक्को त पहिलो पटक सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । कतार विश्वकपको सेमिफाइनलमा स्थान बनाउने टिमहरू कस्ता छन् त ?

अर्जेन्टिना
अर्जेन्टिना फिफा वरीयताको दोस्रो स्थानमा रहेको अर्जेन्टिना समूह ‘सी’को विजेता हुँदै सेमिफाइनलसम्म आइपुगेको हो । अर्जेन्टिनाले अन्तिम–१६ को खेलमा अस्ट्रेलियालाई २–१ ले र क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेको थियो ।

यो खेल पेनाल्टी सुटआउटमा पुग्नुअघि नेदरल्यान्ड्स र अर्जेन्टिनाले निर्धारित र अतिरिक्त समयमा २–२ को बराबरी खेलेका थिए । पछिल्लो ४१ खेलमा खेलमध्ये एक खेलमा मात्र हार बेहोरेको अर्जेन्टिना लियोनल स्कालोनीको प्रशिक्षणमा छ । विश्व फुटबलमा आफ्नो बेग्लै पहिचान स्थापित गराएका लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले २०१४ को संस्करणपछि सेमिफाइनलमा स्थान बनाएको हो ।

रोचक तथ्य के भने अर्जेन्टिनाले हालसम्म विश्वकपको सेमिफाइनलमा हार बेहोरेको छैन । अर्जेन्टिना यसअघि सन् १९३०, १९७८, १९८६, १९९० र २०१४ को सेमिफाइनल खेलेको थियो । यी सबै संस्करणमा अर्जेन्टिनाले फाइनल पनि खेलेको थियो । जसमध्ये अर्जेन्टिनाले १९७८ र १९८६ को उपाधि जितेको थियो ।
क्रोएसिया
फिफा वरीयताको १२ औँ स्थानमा रहेको क्रोएसिया विश्वकपको साविक उपविजेतासमेत हो । कतार विश्वकपमा समूह ‘एफ’को उपविजेता हुँदै नकआउट चरणमा प्रवेश गरेको क्रोएसियाले अन्तिम–१६ को खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरेको थियो ।
जापानविरुद्धको पेनाल्टीमा जित निकाल्नुअघि क्रोएसियाले खेलको निर्धारित र अतिरिक्त समयमा १–१ को बराबरी खेलेको थियो । यस्तै, लुका मोड्रिचको कप्तानीमा रहेको क्रोएसियाले क्वार्टरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमै हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेल पेनाल्टी सुटआउटमा पुग्नुअघि ब्राजिल र क्रोएसियाले १–१ को बराबरी खेलेका थिए ।

सन् १९९१ जुन २५ मा युगोस्लाभियाबाट स्वतन्त्र भएको क्रोएसियाको फिफा विश्वकपको इतिहास लामो छैन । सन् १९९८ मा फ्रान्स विश्वकपमा पहिलोपटक छनोट हुँदा नै क्रोएसियाले विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो । त्यसयताका सबै संस्करणमा सहभागिता जनाएको क्रोएसिया लगातार दोस्रोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
यसअघि २०१८ मा रुस विश्वकपमा क्रोएसियाले फाइनलसम्मको यात्र तय गरेपनि फ्रान्ससँग ४–२ ले पराजित भएपछि उपविजेतामा चित्त बुझाएको थियो ।

फ्रान्स
फिफा वरीयताको चार स्थानमा रहेको फ्रान्स विश्वकपको साविक विजेता हो । विश्वकपको समूह ‘डी’ बाट विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको फ्रान्सले अन्तिम–१६ को खेलमा सेनेगललाई ३–० ले र क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई २–१ ले हराएको थियो ।
डिडियर डेसच्याम्पको प्रशिक्षणमा रहेको फ्रान्सले कतार विश्वकपको पनि उपाधि जिते विश्वकपको इतिहासमा इटाली र ब्राजिलपछि उपाधि रक्षा गर्ने टिम बन्नेछ ।

हालसम्म विश्वकपमा इटाली र ब्राजिलले मात्र उपाधि रक्षा गरेका छन् । इटालीले सन् १९३४ र १९३८ मा भएको विश्वकपको दोस्रो र तेस्रो संस्करणको उपाधि जित्दा ब्राजिलले सन् १९५८ र १९६२ मा भएको छैटौँ र सातौँ संस्करणको उपाधि जितेको थियो ।
सन् १९९८ र २०१८ को विजेता फ्रान्सले अहिलेसम्म विश्वकपका ६ संस्करणको सेमिफाइनल खेलेको छ । यसमध्ये तीन पटक फाइनल खेलेको फ्रान्सले दुईपटक उपाधि जितेको छ ।

मोरक्को
फिफा वरीयताका आधारमा कतारमा जारी विश्वकपको सेमिफाइनलमा पुग्ने मोरक्को सबैभन्दा तलको टिम हो । फिफा वरीयताको २२ औँ स्थानमा रहेको मोरक्को विश्वकपको इतिहासमा अफ्रिकाबाट विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टिम हो । अफ्रिकाबाट यसअघि सेनेगल, क्यामरुन र घानाले विश्वकपको क्वार्टरफाइनल खेलेपनि सेमिफाइनल भने पुग्न सकेका थिएनन् ।

जारी विश्वकपमा समूह ‘एफ’ को विजेताको रूपमा नकआउट चरणमा आएको मोरक्कोले अन्तिम–१६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले र क्वार्टरफाइनलमा पोर्चुगललाई १–० ले पराजित गरेको थियो ।
विश्वकपको इतिहासमा पहिलोपटक सेमिफाइनल प्रवेश गरेको मोरक्कोले सन् १९७० मा पहिलोपटक विश्वकप खेलेको थियो । त्यसयता विश्वकपको चार संस्करण खेलेको मोरक्कोले १९८६ मा अन्तिम–१६ को यात्रा तय गरेको थियो ।
जारी विश्वकपअघिसम्म यो नै मोरक्कोको विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।

सेमिफाइनलका खेलहरू
अब बुधबार पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाविरुद्ध खेल्नेछ । कतारको लुसैल रंगशालामा हुने यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।
बिहीबार हुने दोस्रो सेमिफाइनलमा ‘जायन्ट किलर’ मोरक्कोले साविक विजेता फ्रान्ससामु चुनौती प्रस्तुत गर्दै छ । अल बायत रंगशालामा हुने यो खेलपनि नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

12khari

प्रकाशित मिति : सोमबार, २६ मंसिर २०७९ १०:२८
प्रतिक्रिया दिनुहोस्