भूमि सम्बन्धि ऐन संशोधन गर्नुपर्ने सांसद राईको माग
काठमाडौं । सोलुखुम्बुका सांसद मानबीर राईले भूमि सम्बन्धि ऐन संशोधन गर्नुपर्ने माग गरेका छन् । सांसद राईले मंगलबार प्रतिनिधि सभा बैठकमा कुरा राख्दै सो माग गरेका हुन् ।
जमिन भोगाधिकारको सवालमा ऐनले हिमाल, पहाड र तराईबीच विभेद गरेको उनको भनाई थियो ।
‘हामी हिमाल, पहाड, तराई कोहि छैन पराई भन्छौं’ उनले अगाडि भने ‘तर जमिन भोगाधिकारको सवालमा त्यस्तो छैन,हिमाली र पहाडी क्षेत्रमा एक परिवारका लागि ७५ रोपनीको हदबन्दी छ, तराईमा एक परिवारले १३३ रोपनी (१० बिगाहा)भोगाधिकार गर्न पाउछ, यो सरासर विभेद र अन्याय होइन ?’
भुमि सम्बन्धि ऐनले गरेको यो बिभेदका कारण हिमाल र पहाडका जनता आक्रान्त बनेको भन्दै सांसद राईले भने ‘हिमाल र पहाडमा बर्षमा बल्ल-बल्ल एक बाली कमाई हुन्छ, हिमालमा त कहिलेकाहीँ त्यो पनि हुंदैन । अनि बर्षमा तीन बाली हुने तराईमा भन्दा कम जमिनको भोगाधिकार दिएर हामीले हिमाल र पहाडका सबै नागरिकलाई तराई झर भन्न खोजेको हो ? होइन भने ऐन संशोधन गरेर बिभेदकारी हदबन्दीको ब्यबस्था सच्याउनुपर्छ ।’