अविरल वर्षाका कारण दिप्लीघाटको बेलिब्रिजमा क्षति, दुधकोशीपारीका गाउँपालिका सडकसँग विच्छेद
सोलुखुम्बु : सोलुखुम्बुको कोशीपारिका गाउँपालिकासँग सडक सम्पर्क टुटेको छ । निरन्तरको वर्षाका कारण दुधकोशी नदिमा पानीको वहाव बढेपछि दिप्लीघाटको बेलीब्रिजमा क्षति पुगेको छ । नदिमा पानीको वहाव अत्याधिक बढेकाले करिब ८ मिटर सडक कटान भएको प्रत्यक्षदर्शीले बताएका छन ।
जिल्लाका दुई गाउँपालिका सोताङ र महाकुलुङ गाउँपालिका सदरमुकाम सल्लेरीसँग सडक सञ्जालबाट विमुख भएका छन ।
करिब ८ मिटर सडक नदिले कटान गरेर लगेकाले तत्काल सडक खुलाउन सम्भव नभएको सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको भनाइ छ ।
बेलीबिज्र जोगाउनका लागी आवश्यक जनशक्ति परिचालनको तयारी गरेको थुलुङ दुधकोशी गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले बताउँनुभयो । दिप्लीघाटमा हुगा खोलाको पानी पनि मिसिएर आउने भएकाले वहाव बढेकाले सवारी सञ्चालनमा समस्या हुने गरेको छ ।
पानीको वहाव बढेका कारण थुलुङ दूधकोशी गाउँपालिकाको जुबु र लोखिम जोड्ने बर्खुघाटमा राखिएको ह्विम पाइप पनि निकालिएको छ । पानीको वहावले बगाउने भएकाले पाइप निकालिएको गाउँपालिकोले जनाएको छ । ह्विम पाइप निकालिए पनि सो क्षेत्र पनि जिल्ला सदरमुकामबाट सिधा सवारी सम्पर्कबाट विच्छेद भएको छ ।