Logo

थामे बाढीले क्षतिग्रस्त बनाएको ओर्लाङघाट मोटरेबल पुलको टेण्डर आह्वान, पुरानो पुलको सुपरस्ट्रक्चर पुनः प्रयोगमा ल्याइने


आवेदक कम्पनीको टर्नओभर (वार्षिक कारोबार) ७ करोड ८० लाख हुनुपर्ने तथा यसअघि कम्तिमा १ वटा मोटरेबल पुल निर्माण गरिसकेको हुनुपर्नेलगायतका मापदण्डहरु तोकिएका छन् ।

सोलुखुम्बु, २४ माघ ।  थामे बाढीबाट क्षतिग्रस्त माप्य दुधकोशी गाउँपालिका हुँदै खुम्बु क्षेत्र जोड्ने हाइवेअन्तर्गतको ओर्लाङघाट मोटरेबल पुल पुनःनिर्माणका लागि टेण्डर आह्वान गरिएको छ । अघिल्लो जसरी नै माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाको साझेदारी लगानीमा निर्माण गर्न लागिएको उक्त पुलका लागि २०८१ माघ २२ गतेको मितिमा माप्य दुधकोशी गाउँपालिकाले टेण्डर आह्वान गरेको हो ।

माप्य-खुम्बु मितेरी मोटरेबल पुल नाम दिइएको उक्त मोटरेबल पुललाई गत साउनमा आएको थामे बाढीले क्षति पुर्‍याएपछि पूर्ण रुपमा बन्द अवस्थामा छ । जसको विकल्पका रुपमा हाल दुधकोशी नदीमा ह्युम पाइप राखेर सिधा सडक सञ्जाल सुचारु गरिएको छ ।

हाल रहेको पुलभन्दा करिब ३ सय मिटर उत्तरतर्फ स्थान्तरण गरेर पुल निर्माण गर्ने तयारीसहित टेण्डर आह्वान गरिएको हो । अब बन्ने पुलको लम्बाई ४८ मिटर, चौडाई ५.५ मिटर र उचाई १० मिटर (फाउण्डेशनभन्दा माथिको भाग) हुने माप्य दुधकोशी गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर जोनाथन राईले शिखरपोष्टलाई जानकारी दिनुभयो ।

उहाँले अब बन्ने पुलको संरचनालाई दीगो र मजबुत बनाउनका लागि हरेक क्षेत्रबाट ध्यान दिएर काम गरिने बताउनुभयो । नदीमा बग्ने पानीको वहावको साविक लेभलबाट चट्टान काटेर ९ मिटरभन्दा माथि पुलको फाउण्डेशन (जग) तयार गरिने छ । र, उक्त फाउण्डेशन तयार भएपछि त्यसको १० मिटरमाथि उचाईमा पुलको संरचना निर्माण गरिने छ ।

उहाँकाअनुसार अब बन्ने पुलमा पुरानो पुलको सुपरस्ट्रक्चर (स्टीललगायत) पुनः प्रयोगमा ल्याइनेछ । जेकेआर कन्सल्टेन्सी प्रालि नामक कम्पनीले यो पुलको डिपीआर गरेको हो ।

गाउँपालिकाले आह्वान गरेको टेण्डरअनुसार आवेदक कम्पनीको टर्नओभर (वार्षिक कारोबार) ७ करोड ८० लाख हुनुपर्ने तथा यसअघि कम्तिमा १ वटा मोटरेबल पुल निर्माण गरिसकेको हुनुपर्नेलगायतका मापदण्डहरु तोकिएका छन् ।

यो पुल जिल्लाको सदरमुकामभन्दा करिब ३४ किलोमिटर दूरीमा पर्दछ । हिउँद याममा दुधकोशी नदीमा ह्युम पाइप राखेर यातायात सेवा प्रवाह भइरहेको भएपनि यो स्थायी होइन । पक्की पुल नहुँदा बर्खा याममा सिधा सडक सञ्जाल पूर्ण रुपमा बन्द हुन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र जोड्ने सिधा सडक खण्ड भएका कारण यहाँ पुल नहुँदा त्यस क्षेत्रका नागरिकसँगै सिंगो मुलुकको पर्यटन क्षेत्रलेसमेत सास्ती खेप्नु पर्नेछ । जसले गर्दा पनि यो पुल निर्माण कार्य अभिलम्ब सुरुवात मात्रै होइन सम्पन्न गर्नुपर्ने आवश्यकता देखिन्छ ।

थामे बाढीका कारण फाउण्डेशन धस्सिएर पुनः प्रयोग ल्याउने कुनैपनि अवस्था नभएपछि उक्त स्थानबाट स्थानतरण गरेर पुल निर्माण गर्नुपर्ने निचोडमा गाउँपालिका पुगेको हो । त्यसोत, पुलको बजेट सुनिश्चितता लगायतका बारेमा पालिकाको आन्तरिक र अन्तरस्थानीय तहबीच विभिन्न चरणमा छलफल भइरहेको बुझिएको छ ।

प्रकाशित मिति : बिहीबार, २४ माघ २०८१ ११:४१
प्रतिक्रिया दिनुहोस्