Logo

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि सोलुखुम्बुबाट ९८ खेलाडी छनौट


सोलुखुम्बु – प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि सोलुखुम्बु जिल्लाबाट ९८ जना खेलाडी छनौट भएका छन् । जिल्लाबाट विभिन्न ६ विधामा ९८ जना खेलाडी प्रदेशका लागि छनौट भएको हो ।

खेलकुद विकास समिति कार्यालयका प्रमुख नेत्र प्रसाद घिमिरेका अनुसार महिला पुरुष भलिबलतर्फ १०/१० जना, कबड्डीतर्फ १०/१० जना, एन्थेटिकसतर्फ ११/११ जना छनौट भएका छन् । त्यस्तै महिला / पुरुष कराते, तेक्वान्दो र उसुतर्फ समान ६/६ जना छनौट भएको प्रमुख घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार छनौट भएका खेलाडीहरुमा सोलुदुधकुण्ड नगरपालिका ३५, माप्यदुधकोशी गाउँपालिका १९, थुलुङ दुधकोशी गाउँपालिका १८, महाकुलुङ गाउँपालिकाका ८, सोताङ र नेचासल्यान गाउँपालिका ६/६ जना खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ र लिखुपिके गाउँपालिकाका १ जना छनौट भएका छन् ।

गत फागुन ५ देखि, ९ गते सम्म सदरमुकाम सल्लेरीमा सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट उक्त खेलाडीहरु छनौट भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, १६ फाल्गुन २०८० २२:०५
प्रतिक्रिया दिनुहोस्