Logo

बुनपामा प्रथम भएको विद्यालय दीक्षालय नेपालद्धारा एसईईमा उत्कृष्ट विद्यार्थीलाई बधाई तथा विदाई


काठमाडौं, १७ साउन । काठमाडौंको पैयौंटार, कपनमा अवस्थित दीक्षालय नेपालले एसईई २०८० मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मानसहित बधाई तथा विदाई गरेको छ । दीक्षालय नेपालका अध्यक्ष लब्जी बहादुर कार्कीको अध्यक्षता तथा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा विहिबार चावहिलको स्मार्ट प्यालेसमा आयोजित विशेष कार्यक्रमबीच विद्यार्थीहरुलाई औपचारिक रुपमा बधाई तथा विदाई गरिएको हो ।

दीक्षालय नेपालबाट २०८० को एसईई परिक्षामा ३० जना सहभागि भएकोमा ३.९५ जीपीएसहित लाक्पा शेर्पा उत्कृष्ट भइन् भने सहभागि सबै उत्कृष्ट जीपीए ल्याएर उत्तीर्ण गरेका छन् । ३० जना विद्यार्थीहरुको औसत जीपीए ३.८६ रहेको नतिजाले देखाएको छ । विद्यार्थी र उनीहरुका अभिभावकलाई कार्यक्रममा विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको छ ।

गएको शैक्षिक सत्रको नतिजाअनुसार दीक्षालय नेपाल बुढानिलकण्ठ नगरपालिका भित्रका विद्यालयहरुमध्ये प्रथम भएको छ । त्यस्तै यस विद्यालयले काठमाडौं उपत्यकाभित्रको झण्डै ४ हजार बढि विद्यालयमध्येबाट तेस्रो स्थान प्राप्त गरेर नमुना विद्यालयको रुपमा आफुलाई स्थापित गरेको छ ।

उच्च प्रविधिमैत्री यस विद्यालयले प्रभावकारी शिक्षण पद्दतिमार्फत विद्यार्थीहरुको मनोविज्ञानअनुसार पठन पाठन गराउनुका साथै अतिरिक्त क्रियाकलापमा समेत अब्बल पहिचान बनाएको छ । निकट भविष्यमै यस विद्यालयलाई टेक्नोलोजी ट्रेनिङ स्कुलको रुपमा विकास गर्नेगरी लागिरहेको बताइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीले स्थापनाको छोटो अवधिमै नमुना विद्यालयको रुपमा स्थापित हुँदै गइरहेको दीक्षालय नेपालको उन्नति र प्रगतिमा खुशी व्यक्त गर्नुभयो । यस विद्यालयले बुढानिलकण्ठ नगरपालिकाभित्रका विद्यालयहरुमध्येबाट प्रथम स्थान र काठमाडौं उपत्यकाका विद्यालयहरुमध्ये तेस्रो स्थान हासिल गर्नु विद्यालय परिवारको लागि मात्रै नभएर समग्र शैक्षिक जगतको लागि गौरबको कुरा भएको नगर प्रमुख अधिकारीको भनाइ थियो ।

उहाँले सामुदायिक र संस्थागत विद्यालयलाई एउटै दृष्टीकोणबाट हेरिनुपर्नेमा जोड दिदै यो कुरालाई आफुले नगरपालिकाको बजेट, योजना कार्यक्रम र नीतिबाट स्थापित गरिरहेको दाबीसमेत गर्नुभयो । उहाँले उत्कृष्ट जीपीएसहित उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उच्च शिक्षाको नाउँमा विदेश नजान र नेपालमै केही गर्न आह्वान गर्नुभयो ।

बरिष्ठ पत्रकार तथा मानव अधिकारकर्मी प्राध्यापक पुरुषोत्तम दाहालले व्यवहारिक र उत्पादनसँग जोड्ने शिक्षा आजको आवश्यकता औल्याउँदै विद्यालयले अवलम्बन गरेको घोकाई होइन सिकाई भन्ने शिक्षण पद्धतिको प्रशंसा गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लब्जी बहादुर कार्कीले विद्यालयको उन्नति र प्रगतिका लागि हरेक तवरबाट साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा थप नयाँ ढंगबाट अघि बढाउन लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । विद्यार्थीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै अध्यक्ष कार्कीले नयाँ प्रविधिमार्फत शैक्षिक गुणस्तरीयतामै विशेष ध्यान दिइने बताउनुभयो ।

कार्यक्रममा बरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, बुढानिलकण्ठ नगरपालिका वडा नं. १०, ११ र १२ का वडा अध्यक्षहरु, स्पीड काजी शेर्पा, शिखरपोष्ट मिडिया गु्रपका अध्यक्ष प्रकाश खालिङ, विद्यालय व्यवस्थापन समितिको टिम तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक चित्रकुमार दाहाल र प्रीन्सीपल दुर्गाप्रसाद दाहालले विद्यालय शैक्षिक गतिविधि, भावी योजनालगायतको बारेमा जानकारी दिनुका साथै विद्यार्थीहरुले विभिन्न सांगीतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : शुक्रबार, १८ श्रावण २०८१ ०८:२७
प्रतिक्रिया दिनुहोस्