Logo

पर्यटक यातायातका चालकलाई पर्यटकीय स्थलको बारेमा जानकारी दिनुपर्ने


काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पर्यटन क्षेत्र नेपालको मेरुदण्ड रहेको बताएका छन् ।शुक्रबार काठमाडौँको बुढानिलकण्ठस्थित पार्क भिलेजमा आयोजित नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)को २१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले पर्यटकलाई अनावश्यक दुःख नदिन सुरक्षा निकायलाई आग्रह गरे ।

उनले पर्यटक यातायातका चालकले बानी व्यवहार सुधार्नुपर्ने बताए । चालकलाई पर्यटकीय स्थलका बारेमा जानकारी दिनलाई उनले सुझाए । ‘पर्यटकलाई सेवा सुविधाको आभास सवारीसाधनबाट हुनुपर्छ,’ उनले अगाडि थपे, ‘त्यसका लागि मन्त्रालयले सहयोग गर्छ । यसमा सबैले सहकार्य गर्नुपर्छ ।’

संघका अध्यक्ष बेदराज वास्तोलाले पर्यटक यातायातका सवारी साधनलाई छुट्टै इम्बोस्ड नम्बर उपलब्ध गराउनुपर्नेमा जोड दिए । इम्बोष्ट नम्बर प्लेटको कारण पर्यटन क्षेत्रको पहिचान हटेको उनको भनाई थियो ।

‘इम्बोस्ड नम्बर प्लेटको कारण पर्यटन क्षेत्रको पहिचान हटेको छ,’ उनले भने, ‘हरियो प्लेट हट्न गई सार्वजनिक सवारीसाधन र पर्यटक सवारीसाधन बीचको भिन्नता नदेखिएको तथा समग्र पर्यटनको पहिचान गुम्न जाने खतरा छ ।’

पर्यटक बोक्ने रातो र हरियो प्लेटलाई बिनारोकतोक सडकमा सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ छ । उनले जुन प्रयोजनका लागि पर्यटन क्षेत्रमा व्यवसाय दर्ता भएकालाई सोही अनुसार सञ्चालन गर्न दिनुपर्ने बताए ।

हाल उनले पर्यटकीय यातायातको समस्या औंल्याउँदै पार्किङ अभाव, कठोर कारबाही र बीमा दाबी भुक्तानीमा न्यून मूल्यांकन तथा ढिलासुस्ती भइरहेको उल्लेख गरे ।

उनले भारतीय सवारीसाधनको अनियन्त्रित प्रवेश र पर्यटकलाई भिसा प्रदान गरिए पनि ट्राफिकले बीच सडकमा ओरालेर अनावश्यक चेकजाँच गरिरहेको बताए ।

सम्पदा क्षेत्रमा जाने भारतीय सवारीसाधनलाई नियन्त्रण गर्नुपर्ने बास्तोलाले माग राखे । निजी सवारीसाधनले अनियन्त्रित ढंगले भाडामा लगाएकाले त्यस्ता कार्यलाई रोक्न पनि उनले माग गरेका छन् ।

ट्राफिक प्रहरी बीच सडकमा पर्यटक बोकेको सवारीसाधनलाई होल्ड गर्ने गरेको उनले बताए । व्यक्तिका नाममा खरिद गरिएका सवारीसाधनले करको दायराभन्दा बाहिर रहेर भाडा प्रयोजनमा नियमविपरीत बिल बीजक नगरी काम गरेको उनको भनाइ छ । राज्यले त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न नसकेको उनले आरोप लगाए ।

‘खर्बौँ लगानी गरी व्यवसाय सञ्चालन गरिरहेको व्यवसायीहरूको व्यवसाय सुरक्षा गर्नु राज्यको दायित्व हो,’ उनले भने, ‘पर्यटन यातायातको कारण हज्जारौँ मजदुरले रोजगार पाएका छन् । राज्यको कानुन पालना गरी व्यवसाय सञ्चालन गरिरहेका छौ ।’

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख जीवन कुमार श्रेष्ठले ट्राफिक प्रहरी र पर्यटक यातायातका साधनहरू सडकमा सँगसँगै रहेको बताए । सडकको इन्जिनिरियङ अवस्था र कानुनको कारण ट्राफिकले सडकमा फरक परिचय बनाएर बसेको उनले बताए ।

‘अहिलेको अवस्थामा तीन तहका सरकारले काम गर्नुपर्छ,’ उनले भने, ‘२०४९ को नीतिले निजी गाडीले यात्रु बोक्न छुट दिएको छ र ? हाल कति कानुन कार्यान्वयनमा आए होलान् कति आएनन् ।’

इम्बोस्ड नम्बरको विषय पेचिलो रहेको यातायात व्यवस्था विभागका प्रमुख उद्धव प्रसाद रिजालले बताए । ‘यसका लागि ऐन बनाएर काम गर्छौँ । यातायातको क्षेत्र भनेको ऐन बनाएर काम गर्नुपर्ने क्षेत्र रहेको छ,’ उनले भने ।

प्रकाशित मिति : शनिबार, ८ भाद्र २०८१ ००:०८
प्रतिक्रिया दिनुहोस्