Logo

खालिङ संघद्धारा मेडिकल ट्रष्टको मुलधन ५० लाख पुर्याउने घोषणा, अबदेखि स्थापना दिवसलाई विशेष रुपमा मनाइने


काठमाडौं, १२ असोज । किरात खालिङ राई उत्थान संघले मेडिकल ट्रष्टको मुल धन ५० लाख पुर्याउने लक्ष्य घोषणा गरेको छ । संघले आफ्नो २३औं स्थापना दिवसको अवसरमा सो घोषणा गरेको हो ।

त्यस्तै काठमाडौंको तारकेश्वरमा निर्माणाधिन म्योल कमलाई पूर्णता दिनका लागि निरन्तर अभियान सञ्चालन गर्ने तथा तिथीअनुसार वास (भूमे) मनाउने कार्यक्रमसमेत घोषणा गरिएको छ ।

खालिङ समुदायमा आइपर्ने विविध समस्याहरुको समाधानका लागि विगतमा स्थापना गरिएको मेडिकल ट्रष्टलाई बढावा दिने र यसको दायरा थप बढाउने उद्देश्यले उक्त घोषणा गरिएको संघका केन्द्रीय अध्यक्ष बलबहादुर खालिङले जानकारी दिनुभयो ।

आगामी दिनमा संस्थाको स्थापना दिवसमा भाषा, भेषभूषा र संस्कृतिको संरक्षण एवं प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालनसँगै समुदायको उत्थानका लागि आवश्यक गतिविधिहरु नियमित क्यालेण्डरकै रुपमा राखेर अघि बढाइने अध्यक्ष खालिङको भनाइ छ । उहाँकाअनुसार आगामी वर्षदेखि स्थापना दिवसको अवसरमा संघ मातहतका जिल्ला, विदेश तथा विभागहरु मार्फत पनि समुदायलक्षित विविध खालका सिर्जनात्मक तथा रचनात्मक कार्यक्रम गरिने छ ।

खालिङ मेडिकल ट्रष्टसँगै संघले शैक्षिक तथा विभिन्न अक्षयकोष स्थापना गरी सञ्चालन गर्दै आइरहेको छ । संस्थाले अहिले ख्याल म्योल् तम्र कम निर्माण कार्यलाई अघि बढाउनुका साथै विभिन्न कार्यहरु गरिरहेको छ । यसबीचमा खालिङहरुको आदिम पूर्खा निन्वामरिदम् र ख्वाम्द अनि पूर्खाहरु माप्य र दिक्प्यको स्केच निर्माण गरेर सार्वजनिक गरिसकेको छ । त्यस्तै शैक्षिक अभिमूखीकरण कार्यक्रम गर्दै खालिङ विद्यार्थीहरुको उच्च शिक्षाका लागि पूर्ण तथा आंशिक छात्रवृत्तिको व्यवस्था गर्नुका साथै भाषा र संस्कृतिको संरक्षणका लागि विभिन्न दस्तावेजहरु तयार गर्ने कामलाईसमेत प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

२०५८ सालमा औपचारिक रुपमा स्थापना भएको संघले आफ्नो २३औं स्थापना दिवसको अवसरमा खालिङ भाषिक खुल्ला कविता प्रतियोगिता तथा सम्मान कार्यक्रम आयोजना गरिएको थियो । संघले २०७२ सालमा पहिलो पटक संस्थागत रुपमा आफ्नो स्थापना दिवस मनाउन सुरु गरेको हो । २०७२ सालमा मनाइएको १४औं स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति काठमाडौं गठन गरिनुका साथै खालिङहरुको वासख्वाम क्षेत्र विस्तार कार्यविधि अघि बढाएको थियो ।

प्रकाशित मिति : शनिबार, १२ आश्विन २०८१ २०:०२
प्रतिक्रिया दिनुहोस्