रेशम चौधरीलाई चाँडै छुटाउँने प्रचण्डको आश्वासन
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशम चौधरीलाई छिट्टै छुटाउने बताएका छन् ।
माघीको अवसरमा बुधबार काठमाडौंको टुँडिखेलमा थारु समुदायले आयोजना गरेको माघी महोत्सवमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रेशम चौधरीलाई केही समयभित्र जेलबाट छुटाएर देखाउने प्रतिवद्धता व्यक्त गरे । टीकापुर घटनामा मुछिएका केही व्यक्तिहरु छुटे पनि केही जेलमै रहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘रेमशलागयत केही साथीहरु छुट्न बाँकी छन् । रेशमलाई छुटाइन्छ । केही समयभित्र यसको परिणाम आउँछ ।’
उनले रेशम जेल परेपछि पनि डिल्लीबजारमा कारागारमा गएर भेटेको बताए । रेशमका लागि आफूले धेरै कुरा गरेको उल्लेख गर्दै प्रचण्डले भने, ‘प्रधानमन्त्री र सभामुखलाई भेटेर रेशमलाई माननीयको हैसियत दिन सपथ खुवाउनुपर्छ भन्ने मै हुँ भन्ने नबिर्सनु होला ।’