Logo

घरमा घाइते भेटिएकी पूर्वसचिव कार्कीकी श्रीमतीको मृत्यु


काठमाडौं । घरमा घाइते अवस्थामा भेटिएकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको उपचारको क्रममा मृत्यु भएको छ ।

ललितपुरको सानेपास्थित घरको भान्सामा बिहान ११ बजे अचेत अवस्थामा भेटिएकी मुनालाई उपचारका लागि ललितपुरको स्टार हस्पिटल लगिएको थियो । अस्पताल पुर्‍याएको केही समयपछि उनको मृत्यु भएको कार्कीकै आफन्तले जानकारी दिएका छन् ।

पूर्वसचिव कार्कीकी श्रीमतीलाई उनकै घरमा राखिएका कामदारले हत्या प्रयास गरेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ । दाङका विजय चौधरी पाँच वर्षदेखि कार्कीको घरमा काम गरिरहेका थिए ।

कमदार चौधरी पनि मृत अवस्थामा फेला परेका छन् । सोही स्थानमा पूर्व सचिव कार्कीकी श्रीमती मुना कार्की घाइते भेटिएकी थिइन् ।

उनको दुईवटै हात बाँधिएको अवस्थामा भेटिएको र टाउकोमा धारिलो वस्तु प्रहार गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीले मुचुल्का उठाइरहेको छ ।

प्रकाशित मिति : सोमबार, २७ माघ २०७६ १५:१८
प्रतिक्रिया दिनुहोस्