Logo

अर्को विश्वकीर्तिमानका लागि विख्यात आरोही शेर्पा नेतृत्वको टोलीले सगरमाथा आरोहण गर्दै


काठमाडौं, १२ फाल्गुन । हिउँद मौसममा त्यो पनि पाँच दिनमै सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने लक्ष्यका साथ कीर्तिमानी आरोही टासीलाक्पा शेर्पा नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको छ । विना अक्सिजन पाँच दिनमै सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने लक्ष्य टोलीको छ ।

त्यसोत, विश्व कीर्तिमानका लागि मात्रै नभएर बाहै्र महिना हिमाल आरोहण गर्न सकिन्छ भन्ने सन्देश संसारभर फैलाउँदै नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले आठ पटक सगरमाथाको सफल आरोहण गरिसकेका टासी लाक्पाको नेतृत्वमा मिङतेम्वा शेर्पा, वालुङ दोर्ची शेर्पा र पासाङ नुर्वु शेर्पा सदस्य रहेको टोली सोमबार आधारशिविर तर्फ प्रस्थान गरेको हो ।

संयोजक शेर्पा १९ वर्षकै उमेरमा विना अक्सिजन सगरमाथाको चुचुरो चुम्न सफल आरोही पनि हुन् । त्यस्तै मिङतेम्वाले २ पटक, वालुङ दोर्चीले ४ पटक र पासाङ नुर्वु शेर्पाले २ पटक सगरमाथा आरोहण गरी सकेका छन् ।

हिउँद मौसममा हिमाल आरोहण कमै मात्र हुनेगर्छ । त्यसमा पनि सगरमाथा आरोहण कमै मात्रामा हुने गरेको तथ्याङक छ ।

आधारशविरबाट फागुन १३ मा क्याम्प २, त्यस पछि क्याम्प ३, त्यस पछि क्याम्प ४ पुगेर एक दिन आराम गरेर फागुन १७ मा चुचुरो पुग्ने लक्ष्य उक्त टोलीले राखेको छ । सो लक्ष्य पूरा भएपछि १८ गते नै काठमाडौं फर्कने टोलीको योजना छ ।

टोलीले फोटिन पिक एक्पीडिसनबाट अनुमती लिएर विश्व कीर्तिमानको तयारी थालेका हुन् । विना अक्सिजन ५ दिनमा सफल आरोहण भएमा विन्टर मौसमको सबैभन्दा छोटो समयमा आरोहण गर्ने आरोही टोलीमा उनीहरुको विश्वकीर्तिमान कायम हुने पर्यटन विभागको भनाई छ ।

आधारशिविर जानुअघि दरबारमार्गमा अवस्थित होटल अन्नपूर्णमा आयोजित पत्रकार सम्मेलनमा टोलीका संयोजक शर्पाले आफ्नो लागि भन्दा पनि सिंगो मुलकको पर्यटन प्रवद्र्धनका लागि यो कीर्तिमान अभियान सञ्चालन गरिएको बताए । ‘यो अत्यन्तै चुनौतिपूर्ण काम हो’ उनले अगाडि भने ‘मुलुकको लागि केही गरौं भन्ने दृढ इच्छाशक्तिका साथ अघि बढेका छौं । हाम्रो संस्कारअनुसार नयाँ वर्षमा नयाँ कामको थालनी गरेका छौं । पक्कै हामी जितेर आउँनेछौं ।’

सो पत्रकार सम्मेलनमा पर्यटन विभागका पर्वतारोहण शाखा प्रमुख मिरा आचार्य, नेपाल भ्रमण वर्ष २०२० सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठ, २४ पटक सगरमाथा आरोहण गर्ने विश्व विख्यात आरोही कामीरिता शेर्पा, ८ हजार मिटर भन्दा अग्लो विश्वको १४ वटै हिमालको सफल आरोहण गर्ने विश्व कीर्तिमानी कायम गर्ने आरोही मिंमा शेर्पा, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामा, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीलगायतले टोलीलाई आरोहण सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यसैबीच, नेपाल भ्रमण वर्षका सदस्य सचिव बच्चुनारायण श्रेष्ठले टोलीलाई नेपाल भ्रमण वर्षको झण्डा हस्तान्तरण गरे ।

प्रकाशित मिति : सोमबार, १२ फाल्गुन २०७६ १५:५६
प्रतिक्रिया दिनुहोस्