Logo

भ्रमण वर्ष २०२० का कार्यक्रमहरु स्थगित गर्ने औपचारिक निर्णय !


काठमाडौं  । कोरोना भाइरसको बढ्दो प्रभावलाई मध्यनजर गर्दै नेपालले आयोजना गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० लक्षित प्रचारप्रसारका कार्यक्रमहरु हाललाई स्थगित गरिने भएको छ।

नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्चमा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रमहरू हाललाई स्थगन गर्ने निर्णय भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजकत्वमा आज बसेको सरोकारवाला निकायका उच्च अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि लिनुपर्ने तत्कालीन नीति तथा कार्यक्रमको सम्बन्धमा नेपाल पर्यटन बाेर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले एक हप्ताभित्र संक्षिप्त प्रतिवेदन तयार पार्ने जनाइएको छ।

त्यस्तै नेपाल वायुसेवा निगमले जापानको नरिता अन्तर्राष्ट्रिय विमानस्थलमा गर्न लागेको उडानको सुरुआतमा दुवै मुलुकमा कुनै औपचारिक कार्यक्रम आयोजना नगर्ने निर्णय भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षबाट आवतजावत गर्ने सबै यात्रुको आवश्यक स्वास्थ्य जाँचको प्रवन्ध तत्काल मिलाउनको लागि विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक देवचन्द्रलाल कर्ण संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय भएको छ।

सो कार्यदलले स्वास्थ्य परिक्षणका लागि थप स्थान र उपकरण समेतको आवश्यकता पहिचान गरी आवश्यक तयारी थाल्नेछ।

सडक मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको स्वास्थ्य जाँच र आवश्यक पूर्वाधारको प्रवन्धका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अध्यागमन विभागसँगको समन्वयमा आवश्यक व्यवस्था गर्न उक्त मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।

प्रकाशित मिति : आईतवार, १८ फाल्गुन २०७६ १६:४३
प्रतिक्रिया दिनुहोस्