Logo

लुम्बिनी प्रदेशको घटना अलोकतान्त्रिक र असंवैधानिक : देउवा


काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा स‌ंविधानको उल्लङ्घन भएको र राजनीतिक नैतिकता हराएको बताएका छन् । त्यहाँ भएको यो अलोकतान्त्रिक कदम र यसका समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको उनले जनाएका छन् । 

सभापति देउवाले आइतबार विज्ञप्ति जारी गर्दै एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेको जिकिर गरेका छन् । एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्‍नु र पुनः मुख्यमन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत नभएको देउवाले उल्लेख गरेका छन् ।

‘लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । संविधानको ठाडो उल्लंघन, बलमिच्याँई र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भत्सर्ना गर्दछुँ,’ विज्ञप्तिमा लेखिएको छ।

नेपालको संविधान बमोजिम संसद्‌मा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्‍याई राजीनामा गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु संविधान एवं संसदीय मूल्यमान्यता, विधि र पद्धतिको ठाडो उल्लङ्घन भएको सभापति देउवाको आरोप छ ।

सांसदहरूले आफ्नो कित्ता स्पष्ट पार्दै राजीनामा र नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा एवं राजमो लगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको अवस्थामा संसदीय मूल्यमान्यता विपरीतको व्यवहार प्रस्तुत हुनु आपत्तिजनक र लज्जास्पद  रहेको विज्ञप्तिमा उल्लेख छ ।

सभापति देउवाले केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनीमा देखिएको भन्दै यसलाई कांग्रेसले अत्यन्तै गम्भीरता पूर्वक लिएको पनि उल्लेख गरेका छन् । विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसद्‌को बहुमत अनुरुप नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न पनि देउवाको अपील छ ।

प्रकाशित मिति : सोमबार, २० बैशाख २०७८ ०६:०५
प्रतिक्रिया दिनुहोस्