Logo

सोलु करिडोर प्रसारण लाईन समयमा नबन्दा एक वर्षदेखि विद्युत खेर, अब कहिले बन्ला त ?


काठमाडौं । १३२ केभीको सोलु करिडोर प्रसारण लाईनको काम समयमा सम्पन्न नहुँदा २३.५ मेगावाटको सोलुखोला जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । विगत एक वर्षदेखि सोलुको १७ मेगावाट विद्युत खेर गइरहेको छ । हिउँदमा सबै उत्पादन प्रणालीमा जोडिए पनि बर्खाको विद्युत खेर गइरहेको छ ।

निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु र १९.८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु दूधकोशीलगायत आयोजना पूरा हुने चरणमा पुगेका छन् । यी आयोजना विद्युत उत्पादनको चरणमा पुग्न लागेकाले प्रसारण लाइन चाँडै सम्पन्न गर्नुपर्ने दवाब प्राधिकरणलाई छ ।

सोलु र तल्लो सोलु सुपर सिक्स अन्तर्गत सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिएका जलविद्युत आयोजना हुन् । सोलु बेसिनमा अहिले तल्लो र माथिल्लो सोलु, सोलु दूधकोशीसँगै ५ मेगावाटको जुनबेंसी आयोजना पनि निर्माणाधीन रहेको छ ।

यद्यपी, कटारी नगरपालिका–४, मरुवाका स्थानीयले तीन वर्षदेखि विविध माग राखेर अवरुद्ध गरेपछि रोकिएको १३२ केभी सोलु करिडोर प्रशारण लाईनको निर्माण कार्य अहिले आएर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले समन्वय गरी सुरक्षा दिएपछि प्रशारण लाईन निर्माण कार्य अघि बढेको हो ।

नेपाल विद्युत प्राधिकरणले प्रशासनको सहयोगमा गत असार २४ गतेदेखि प्रसारण लाइनको काम सुरु गरेको हो । प्राधिकरणले प्रहरीको सुरक्षामा प्रसारण लाइनको संरचना निर्माणको काम सुरु गरे पनि स्थानीयले विभिन्न माग राख्ने काम भने रोकिएको छैन । रुट परिवर्तन गर्नुपर्ने तथा मुआब्जालगायतको माग स्थानीयको छ ।

अहिलेसम्म प्रसारण लाइनको ३ सय २ मध्ये २ सय ९२ वटा टावरको निर्माण पूरा भइसकेको छ । ९० किलोमिटरमध्ये ७५ किलोमिटर तार तान्ने काम पनि सम्पन्न भइसकेको छ । सोलुखुम्बु र मिर्चैयामा सबस्टेसन निर्माणको काम पनि सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : आईतवार, १७ श्रावण २०७८ १३:१६
प्रतिक्रिया दिनुहोस्