खालिङ पुनः माओवादी केन्द्रको गाउँपालिका अध्यक्षमा निर्वाचित
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) माप्य दुधकोशी गाउँपालिका, सोलुखुम्बुको अध्यक्षमा पुनः प्रकाश खालिङ निर्वाचित भएका छन् । मंसिर १९ गते गाउँपालिकाको सभाहल खास्तापमा सम्पन्न पार्टीको प्रथम ऐतिहासिक सम्मेलनबाट खालिङ नेतृत्वको ५५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा करण राई, अजय किराती र कविधन राई, सचिवमा सज्जन राई, सहसचिवमा मेघराज तामाङ र कोषाध्यक्षमा सिता राई चयन भएका छन् ।
विसं ०५९ सालमा अनेरास्ववियु क्रान्तिकारी बासाखाली माविको सचिव भएर विद्यार्थी राजनीतिमा होमिएका खालिङ जनसांस्कृतिक एरियामा आबद्ध हुँदै ०६४ सालमा काठमाडौँको आरआर क्याम्पस अनेरास्ववियु (क्रान्तिकारी)को इकाई कमिटी सदस्य भएका थिए । त्यसपछि व्यवसायिक पत्रकारितामा जोडिएका खालिङ क्रान्तिकारी पत्रकार संघ सदस्य हुँदै प्रेस सेन्टर नेपालको प्रदेश नं. १ को सहसचिव, एमाले र माओवादी एकतापछि बनेको नेकपानिकट प्रेस संगठन नेपालको केन्द्रीय सदस्यसमेत बनेका उनी पार्टीको सोलुखुम्बु जिल्ला सदस्य र प्रचार तथा प्रकाशन विभाग प्रमुख भएका थिए ।
माओवादी केन्द्रले विधान संशोधन गरेपछि स्थानीय तह, प्रदेश र केन्द्रीय कमिटीलाई कार्यकारी बनाउने र जिल्लालाई समन्वय समिति मात्रै बनाएपछि जिल्ला समन्वय समितिको सदस्य तथा प्रचार विभाग प्रमुखसँगै माप्य दुधकोशी गाउँपालिका समिति अध्यक्षको भूमिकामा रहेका थिए ।