नयाँ पर्यटन ऐनको प्रक्रिया अघि बढेको मन्त्री किरातीको भनाइ, पर्यटन बोर्डको औचित्यमाथि प्रश्न !
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको समस्या दीर्घकालिन रुपमा समाधानका लागि राष्ट्रिय पर्यटन नीतिको खाँचो औल्याउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)को पर्यटन प्रवद्र्धन तथा नागरिक उडडयन विभागले आइतबार ठमेलस्थित काठमाडौं गार्डेन होममा आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा बोल्दै उहाँले नयाँ पर्यटन ऐन निर्माणका लागि मन्त्रीपरिषदबाट स्वीकृति लिएर प्रक्रिया अघि बढाइसकिएको बताउनुभयो ।
आफु मन्त्री भएपछि विद्यमान ऐन कानुनबाट उत्पन्न समस्याहरुको पहिचान गर्न र भ्रष्टाचारका प्वालहरु टाल्ने काम गरिरहेको जिकिर गर्दै मन्त्री किरातीले अब पर्यटनलाई अघि बढाउने स्पष्ट नीतिका साथ अघि बढिरहेको पनि बताउनुभयो ।
‘मन्त्री भएको यो छ महिना अवधिमा मसिना सुधारका काम र मन्त्रालय बुझ्ने काम भएको छ’ उहाँले भन्नुभयो ‘अब स्पष्ट नीतिमध्ये पहिलो नीति मै परिवर्तन हो । हाम्रो पर्यटन र संस्कृति नीति के हुने ? अब बन्ने नीतिले सबै सरोकारवालाहरुको आवाज अटाउने, समयलाई बोक्न सक्ने, सबैको भावनालाई सम्बोधन गर्न सक्ने हुनुपर्छ ।’
त्यस्तै नेपाल वायुसेवा निगमको सुधार अर्को आफ्नो प्राथमिकता भएको भन्दै उहाँले सबै ऋण तिरेर चाँडै नयाँ जहाज आउने बताउनुभयो ।
‘मैले भनिसकेको पनि छु कि परिणाम देऊ होइन भने धैर्यता गर्न सकिन्न ।’ नेपाली आकास र एयरपोटलाई सुरक्षित बनाउन कडाईका साथ लाग्नुपर्ने भनाइ पनि उहाँले राख्नुभयो ।
त्यस्तै अर्को नेपालको पर्यटन नेपालीपन कै हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । ‘प्रकृतिको सम्पदा र मानवनिर्मित सम्पदालाई सम्वद्र्धन गरेर निर्माण हुने पर्यटन नै नेपाली पर्यटन हो । त्यसलाई स्थानीय स्वाद र स्वामित्वसहित पनि भनिएको छ ।’
एक अर्को प्रसंगमा मन्त्री किरातीले पर्यटन बोर्डले सार्वजनिक गरेको बजेट सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
ठूलो हिस्सा बजेट पर्यटन प्रवद्र्धनको नाउँमा यूरोप केन्द्रित कार्यक्रम बनाइएको कुरा आफुलाई मान्य नभएको उल्लेख गर्दै त्यसलाई सुधारेर कमसेकम त्यसको आधा हिस्सा चीन र भारतलगायतका छिमेकी मुलुकमा पर्यटन प्रवद्र्धनमा खर्चन निर्देशनसमेत दिनुभयो ।
माओवादी केन्द्र पर्यटन प्रवद्र्धन तथा नागरिक उडडयन विभाग प्रमुख झक्कु सुवेदीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, टानका पूर्व अध्यक्षहरु दीपक महत, ज्योति अधिकारी, नवराज दाहाल, भिटोफ नेपालका पूर्व अध्यक्ष कमल सापकोटा, एनएमएका अध्यक्ष निमानुरु शेर्पा, टानका अध्यक्ष निलहरी वास्तोला, नाट्टाका अध्यक्ष रमेश थापा, नाराका अध्यक्ष शिव अधिकारी, हानका अध्यक्ष शाक्य भिटोफ नेपालका अध्यक्ष गोपाल थापा, टुर्गानका अध्यक्ष बद्री नेपाल, महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष निर्मला धमला, एक्स्पीडिसन अपरेटर एसोसिएशनका महासचिव ऋषि भण्डारी, सोट्टोका पूर्व अध्यक्ष यम खड्का, टानका पूर्व कोषाध्यक्ष कुमार थापा, एनटीभीएका अध्यक्ष सन्तोष न्यौपाने, नाट्टाका अध्यक्ष रमेश थापाले लगायतले संस्थागत प्रतिनिधित्व गर्दै आफ्नो सुझावसहितको भनाइ राखेका थिए ।
कार्यक्रमका वक्ताहरुले पर्यटन बोर्डको औचित्यमाथि प्रश्न गर्दै यसको पुनर्संरचना गर्नुपर्नेमा जोड दिएका थिए ।
अभिलम्ब नयाँ पर्यटन ऐन ल्याउनुपर्ने, संघीय पर्यटन ऐन र प्रदेश पर्यटन ऐनबीचको अन्यौलता स्पष्ट पारिनुपर्ने, तथा सिंगो पर्यटकीय सेवाप्रदायक क्षेत्रमा सरकारले लागु गरेको भ्याट समस्याको दीर्घकालिन समाधान गर्नुपर्ने, हेलिकप्टर कम्पनीको सन्दर्भमा भएको निर्णय सुधार्नुपर्ने, पर्यटक यातायात क्षेत्रको नीतिगत एवं कार्यान्वयनगत समस्या, पर्यटक बसपार्क तथा पर्यटक यातायात पार्किङ समस्या, ग्रामिण पर्यटन प्रवद्र्धनलाई थप जोड दिइनुपर्ने, पदयात्रा तथा पर्वतारोहण क्षेत्रको समस्या, पर्यटकीय सम्पदा तथा केन्द्रहरुको समस्यालगायतको समाधान अभिलम्ब खोजिनुपर्नेमा जोड दिइयो ।