Logo

जिमी समाजको टोली थुलुङ दुधकोशी गाउँपालिकामा, अध्यक्ष राईलाई बुझायो मागपत्र


सोलुखुम्बु । जिमी राई उत्थान समाज सोलुको केन्द्रीय र स्थानीय समितिको संयुक्त टोलीले थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईलाई मागपत्र बुझाएको छ । गाउँपालिकामा भएका विकास निर्माणहरुको स्थलगत अध्ययन अवलोकन भ्रमण गर्ने उद्देश्यसहित आएको टोलीले जिल्लाको सदरमुकाम सल्लेरीमा समाजद्धारा निर्माणाधिन अवस्थामा रहेको संग्रहालयसहितको बहुद्देश्यीय भवनमा सहयोग गर्नका लागि सो मागपत्र बुझाएको हो ।

समाजका अध्यक्ष यसबहादुर राई नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष राईलाई स्थानीय सरकारसँगै प्रदेश सरकारबाट पनि सहयोग गराउने वातावरण मिलाईदिन आग्रह गरेको हो ।

प्रतिउत्तरमा गाउँपालिका अध्यक्ष राईले आफ्नो पालिकाको तर्फबाट अरु स्थानीय तहसरह नै सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रदेश सरकारबाट बजेट विनियोजन गराउँन आफै विराटनगर गएर पहल गर्ने बचनबद्धता व्यक्त गर्नुभयो । समाजले अघि सारेको यो अवधारणाबाट सिंगो समुदायको भाषा, भेषभूषा र संस्कृतिको संरक्षण र संवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले यसलाई सफल पार्नका लागि आफु अन्तरआत्मबाटै लाग्ने विश्वाससमेत दिलाउनुभयो ।

टोलीले थुलुङ दुधकोशी गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन, दुधकोशी सामुदायिक अस्पताल, थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालय, ओगेनाम दरबार क्षेत्रको अवस्थालगायतको स्थलगत अध्ययन अवलोकन गरेको छ । सबै संरचनाहरुको अवलोकनपछि टोलीमा सहभागिहरुले थुलुङ दुधकोशी गाउँपालिकाले अघि बढाएको तत्कालिन र दीर्घकालिन योजना तथा कार्यक्रमहरु देशकै लागि साच्चै नमुना रहेको प्रतिक्रिया दिएका थिए ।

समाजको उक्त टोलीमा केन्द्रीय अध्यक्ष यसबहादुर राईसहित उपाध्यक्षहरु रामरतन राई र सरिता राई, पूर्व महासचिव विक्रमबाबु राई, कुञ्जनी राई, स्थानीय समितिका अध्यक्ष डाकबहादुर राईसहित कार्यसमितिका डिबी खालिङ, तेजबहादुर राईलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : शुक्रबार, ११ जेष्ठ २०८१ २१:५९
प्रतिक्रिया दिनुहोस्