Logo

लुम्बिनी विश्वमा नेपाललाई चिनाउने अग्रणी सम्पदा: मन्त्री भट्टराई


file picture

बुटवल, २१ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनी विश्वमा नेपाललाई चिनाउने अग्रणी सम्पदा रहेको भन्दै बुहत्तर लुम्बिनीको विकासमा सरकार लागिपरेको बताएका छन् ।

बुहत्तर लुम्बिनी क्षेत्रका विषयमा मंगलबार लुम्बिनीमा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले ‘ग्रेटर लुम्बिनी’को विकासका निम्ति अब प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला निकाय सबैसँग छलफल गरिने बताए ।

मन्त्री भट्टराईले मायादेवी मन्दिर क्षेत्रको विकासले मात्रै लुम्बिनीको बृहत्तर विकास हुन नसक्ने बताउँदै देवदह, सैनामैना, तिलौराकोटलगायतका क्षेत्रहरुलाई पनि एक अर्कासँग जोड्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बृहत्तर लुम्बिनीको गुरुयोजना कार्यान्वयन आवश्यक रहेको र यसका लागि प्रदेश सरकारले पनि प्राथमिकता दिएको बताए ।

लुम्बिनीको विकासको नेतृत्व प्रदेश सरकारलाई दिन पनि उनले आग्रह गरे । लुम्बिनी आसपासमा ओझेलमा परेका सम्पदा र क्षेत्रहरुको संरक्षणको जिम्मा सम्बन्धित पालिकाहरुलाई दिनुपर्ने मुख्यमन्त्री पोखरेलको सुझाव थियो ।

उनले तिलौराकोट र रामग्रामको गुरुयोजना अनुसार विकास गर्न जग्गा प्राप्ति महत्वपूर्ण हुने भएकाले त्यसमा ध्यान दिन सुझाए ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष र नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सफल पार्न लुम्बिनीमा पर्यटक बढाउने खालका गतिविधि जरुरी रहेको बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले लुम्बिनी गुरुयोजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी २० प्रतिशत कामका लागि अन्तर्राष्ट्रय परामर्शदाता नियुक्त भइसकेको बताए ।

प्रकाशित मिति : मंगलवार, २१ माघ २०७६ १८:०६
प्रतिक्रिया दिनुहोस्