Logo

कांग्रेसले सबै वडामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता थप गर्ने


नेपाली कांग्रेसले हरेक वडा तहमा ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यता थप वितरण गर्ने निर्णय गरेको छ । बुधबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले प्रत्येक वडामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता थप गर्ने तथा वडा कार्य समिति र क्षेत्रीय कार्यसमितिका लागि आवश्यक पर्नेसम्म क्रियाशिल सदस्यता वितरण खुला गर्ने निर्णय गरेको हो ।

प्रत्येक वडामा जनसंख्याको बनोटलाई आधार बनाएर समानुपातिक हिसाबले वितरण गर्ने निर्णय बैठकले गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। प्रवक्ता शर्माले गत पुस ११ गतेको बैठकले अधिवेशनसम्मका लागि विधानका केही धारा निलम्बन गर्ने भनि गरेको निर्णय बुधबारको बैठकले सर्वसम्मतिले पारित गरको बताए।

पार्टीको महाधिवेशनसम्म विधानका ५ वटा धारा निलम्बन गर्ने निर्णय गत पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकले गरेको थियो। तर, त्यतिबेला वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक बहिस्कार गर्दै बहुमतबाट भएका निर्णयहरु मान्य नहुने बताउँदै आएका थिए।

कांग्रेसले आगामी वर्षको फागुनमा हुने पार्टीको महाधिवेशनको कार्यतालिका पनि केही हेरफेर गरेको छ। प्रवक्ता शर्माका अनुसार फागुन १५ गतेभित्र समायोजन गर्न जिल्लाहरुलाई निर्देशन दिएको छ। कतिपय समायोजन हुन नसकेको जिल्ला वा समायोजनका क्रममा समस्या उत्पन्‍न भएमा केन्द्रबाट समन्वय गर्ने सहमति पनि बैठकमा जुटेको उनले बताए।

कांग्रेसले फरक राजनीतिक आस्था राख्‍ने व्यक्तिहरुमाथि पूर्वाग्रह राखी सुनियोजित रुपमा झूठा मुद्दा लगाउने, संविधानको मर्म र भावना विपरितका विधेयक ल्याउने सरकारी निर्णयको भर्त्सना गरेको जनाएको छ। यसका विरुद्ध का‌ंग्रेसले चरणबद्ध विरोधका कार्यक्रम संचालन गर्ने पनि निर्णय गरेको छ । प्रवक्ता शर्माले पार्टीका मुद्दा र राष्ट्रिय मुद्दाहरुको सन्दर्भमा पार्टीका सबै नेताहरु एक ठाउँमा आएको सन्देश पनि बैठकले दिएको बताए।

केन्द्रीय समितको निर्णयमा भनिएको छ, ुवर्तमान सरकारले राजनैतिक पूर्वाग्रह राखी भिन्न राजनीतिक आस्था राख्ने राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई सुनियोजित रुपमा झुठा मुद्दा लगाउने, दमन गर्ने, सरकारकै संरक्षणमा संस्थागत भ्रष्टाचार गर्ने तथा संविधानको मर्म एवं भावना विपरितका विधेयक र जनविरोधी क्रियाकलापका विरुद्ध चरणवद्ध विरोधका कार्यक्रम संचालन गर्ने निर्णय गर्दछ ।

ekantipur

प्रकाशित मिति : बुधबार, २९ माघ २०७६ १२:०१
प्रतिक्रिया दिनुहोस्