Logo

व्यवसायीले बैंकलाई तिर्नु पर्ने व्याज तीन महिना थप गर्न उद्योग वाणिज्य महासंघको आग्रह


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायी उद्योगीहरुले बैंकलाई तिर्नु पर्ने व्याज तीन महिना थप गर्न आग्रह गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण व्यापार व्यवसायमा ठूलो क्षति भएको बताउँदै महासंघले उद्योगी व्यवसायीले बैंकबाट लिएको ऋणको सावा व्याज तीन महिना थप गर्न सरकारलाई आग्रह गरेकाे हाे ।
महासंघको शुक्रबार बसको कार्यसमितिको बैठकले कोरोनाको कारण नेपाली उद्योग व्यवसाय चौपट भएको बताउँदै सरकारले यसमा सहजता गरिदिन अनुराेध गरेकाे हाे।

आजको निर्णयमा महासंघले कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमै गम्भीर धक्का पुग्ने देखिएको र त्यसको असर नेपालमा समेत पर्न गएको र उद्योग व्यवसाय क्षेत्रमा असर देखिन थालेकाले उद्योगी व्यवसायीले बैंकहरूबाट लिएको ऋणको सांवा व्याज र सरकारलाई २०७६ चैत्र मसान्तसम्म तिर्नुपर्ने करको समयावधी तीन महिना थप गर्न नेपाल सरकारलाई अनुरोध गर्ने उल्लेख गरेको छ ।

यस्तै, राष्ट्रको माथिल्लो सूचिमा रहेकाले यसबाट आउन सक्ने समस्यासंग जुध्न नेपाल सरकारले ल्याएका सबै कार्यक्रम, रणनीति र स्वास्थ्य योजनामा महासंघले सरकारलाई सहयोग गर्ने र त्यसका लागि आफ्ना सबै संरचनालाई प्रभावकारी ढंगबाट परिचालन गर्दै स्थितिको समीक्षा गर्न आवश्यकतानुसार महासंघका पदाधिकारी समितिको बैठक बस्न जनाएको छ ।
महासंघले कोरोना भाइरसका कारण सवैभन्दा बढी प्रभावित रहेको पर्यटन उद्योगलाई वाह्रय देशहरूले सहुलियत प्याकेजको घोषणा गरिसकेको सन्दर्भमा नेपाल सरकारबाट पनि नेपाली पर्यटन उद्योगलाई थप क्षति हुनबाट बचाउन सहयोगका आकर्षक प्याकेज ल्याउन आग्रह गरेका छन् ।

महासंघले विज्ञप्ती जारी गर्दै महासंघका सवै सदस्य संघ संस्था उद्योग प्रतिष्ठानहरूलाई अत्यावश्यक सामग्रीहरूको पारदर्शी र निश्पक्ष रूपमा विक्रि वितरण गर्न तथा आम जनमानसमा अनावश्यक रूपमा अत्यावश्यक सामग्रीहरूको भण्डारण नगर्न आग्रह गर्ने र सरकारलाई पनि अत्यावश्यक सामग्रीहरूको विक्री वितरणलाई प्रभावकारी बनाई जनमानसमा निर्धक्क हुने वातावरण बनाउन आग्रह गर्ने उल्लेख गरेको छ ।

प्रकाशित मिति : शनिबार, १ चैत्र २०७६ १६:०९
प्रतिक्रिया दिनुहोस्