कोरोनाका कारण पर्यटनमा भएको नोक्सानले अर्थतन्त्रमा खासै असर नपर्ने अर्थमन्त्री खतिवडाको भनाइ
काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटनमा भएको नोक्सानले अर्थतन्त्रमा खासै धक्का नपर्ने बताएका छन् । मन्त्री खतिवडाले कोरोनाको प्रभावले पर्यटनमा असर पर्ने भएपनि त्यसले अर्थतन्त्रमा त्यति धक्का नपर्ने बताएका हुन् ।
बिहीबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै डा.खतिवडाले पर्यटनको जीडीपीमा ३ प्रतिशत मात्र योगदान भएकाले कोरोनाको असर त्यति परिमाणमा मात्रै पर्ने भन्दै त्यसले अर्थतन्त्रमा खासै असर नपर्ने बताएका हुन् ।
बिहीबार पत्रकार सम्मेलनमा कोरोना भाइरसको संक्रमण र यसका प्रभावबारे जानकारी गराउने क्रममा मन्त्री डा. युवराज खतिवडाले व्यक्त गरेको बिचार:
अहिले हामीले के अनुमान गरिरहेका छौं भने पर्यटनमा असर पर्यो त्यसले समग्र अर्थतन्त्र सिथिल हुन्छ भन्ने ठाडो अनुमान गरिरहेका छौं । यसलाई ‘रुल अफ थम’ भन्छु म ।
त्यस्तै, अवस्था पर्यटन क्षेत्रमा हो । हामीले कुनै पनि क्षेत्रको मापन कुल ग्राहस्थ उत्पादन क्षेत्रबाट गर्छौ । त्यसमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्रै हो । त्यो ३ प्रतिशत योगदान हुने क्षेत्रमा परेको असरले समग्र अर्थतन्त्रमा पर्ने असरलाई पनि त्यसै अनुसार मापन गर्नुपर्छ ।त्यसैले त्योभन्दा बढी अनुमान गर्नु आवश्यक छैन ।
उद्योगको सन्दर्भमा केही उद्योग क्षेत्रमा औद्योगिक कच्चा पदार्थको अभाव भएको हो कि भनेर हेरिरहेका छौं । खास गरी आयातित कच्चा पदार्थको अवस्था के हो भनेर ।
फागुनसम्मको व्यापारको तथ्यांक हेर्ने हो भने अघिल्लो वर्षको फागुनमा भन्दा यो वर्षको फागुन महिनामा ४ प्रतिशतले आयात बढेको छ । त्यसैले कोरोना भाइरसलाई लिएर बजारमा आयातित वस्तुको अभाव हुन्छ कि भन्ने होइन ।
हो, एउटा विषय के हो भने, रसुवागढी र तातोपानी नाका भइ आयात हुने केही सामान अहिले रोकिएका छन् । त्यो पनि स्वास्थ्य सुरक्षा, क्वारेन्टाइनलगायत सबै कुराको प्रबन्ध गरेर खोल्न सक्ने कुरा भइसकेको छ ।
र, १४ दिनभन्दा बढी होल्डमा बसेका कन्टेनरलाई छुटाउन सकिन्छ कि भन्ने विषयमा हामी २/३ वटा उद्योग, अर्थ र कृषि मन्त्रालय बसेर टुंगाउनुपर्ने विषय छ । त्यो हुने वित्तिकै उत्तरतर्फ आप्रवाह हुने विषय सूचारु हुन्छ ।
अहिले व्यापार सहजै ढंगले भइरहेको छ । पेट्रोलियम पदार्थको आपूर्ति पनि सहज ढंगले भइरहेको छ । र, उर्जाको आपूर्ति पनि सहज भइरहेकाले यसकै आधारमा प हाम्रा आन्तरिक क्षेत्रमा केही क्षेत्रबाहेक सबै प्रभावित भइसकेका छैनन् ।
निर्माणमा केही समस्या आएको हो । खासगरी विदेशी कामदार, प्राविधिक भएका आयोजनामा केही समय समस्या परेको हो । चिनियाँ कामदार, प्राविधिक रोकिएकाले समस्या भएको हो । उनीहरु पनि आउन तयार नै छन् । उनीहरुले अहिले स्वास्थ्य जाँच गरेर आउन दिनु पर्यो भनिरहेका छन् । यो पनि हामीले छिट्टै टुग्याउँछौं । त्यसैले निर्माणका क्षेत्रहरु पनि स्वभाविक रुपले छिट्टै सूचारु हुनेछन् ।
निजी क्षेत्रका निर्माण खास गरी हाइड्रोमा यही समस्याले निर्माण रोकिएको हो भने त्यो पनि अब धेरै समयसम्म रहन्न ।
त्यसैले व्यापार, वित्त, निर्माण क्षेत्र स्वभाविक रुपमा अघि बढिरहँदा केही क्षेत्रमा स्वभाविक रुपले हामीलाई असर परिरहेको छ । जस्तै हामीले कतिपय सेवालाई तत्कालका लागि स्थगित गरिरहेका छौं ।
विद्यालयहरु बन्द गरेका छौं । आवतजावत र भीडमा नजान भनेका छौं । क्लब र सिनेमा हलमा पनि नजान भनेका छौं । ती क्षेत्रमा पनि केही असर पर्छ । तर ती क्षेत्रमा पनि दीर्घकालीन रुपमा असर नपर्ने गरी काम गर्छौ ।
यसका लागि तीन वटै तहको सरकारको सहयोग आवश्यक छ र तीन वटै तहको सरकारबीच समन्वय राम्रो छ ।
पछिल्लो समय हामीले पर्ख र हेरको अवस्था भए पनि शैक्षिक संस्था बन्द र परीक्षा स्थगित गर्नु पर्ने अवस्था आयो । २/३ वटा कुरामा अहिले नै स्पष्ट पार्न चाहन्छु ।
विश्व स्वास्थ्य संगठनको दक्षिण, पूर्वी एसियाको निर्देशकले नेपालमा अलिक असर पर्न सक्छ है भन्ने कुरा सुन्यौ । हाम्रा अभिभावकले पनि अहिले विद्यार्थीलाई जोखिममा किन राख्ने भन्ने विषयलाई पनि हामीले मनन गर्यौं ।
हाम्रा नागरिक समाजका व्यक्तिहरुले पनि परीक्षा पर नसारी किन जोखिम लिएको भन्ने कुरा गर्नु भयो । र, यो धेरै चासोको विषय पनि भयो । त्यसैले अहिलेलाई स्थगित गरिएको हो । यसमा पनि शैक्षिक क्यालेन्डर नबिग्रने गरी काम गर्छौ ।
अब यसमा सरकारले गर्ने कामसँगै नागरिक समाज, प्रेस, सामाजिक सञ्जाल चलाउनेहरु पनि भ्रम पैदा नगरिकन गयौं भने हाम्रो प्रयास सफल हुन्छ भन्नेमा म विश्वस्त छु ।