माप्य दुधकोशी गाउँपालिकाद्धारा सयौंको उद्धारपछि राहत वितरण सुरु, एकै दिनमा २ सयले पाए राहत
काठमाडौं । माप्य दुधकोशी गाउँपालिकाले कोरोना भाइरसबाट उत्पन्न समस्या झेलिरहेका काठमाडौंमा रहेका आफ्ना नागरिकहरुलाई राहत वितरण कार्य सुरु गरेको छ । गाउँपालिकाले दोस्रो चरणको राहत कार्यक्रमअन्तर्गत विद्यार्थी, मजदुर तथा विपन्न परिवारलाई चामल, दाल, खानेतेल तथा नुनलगायतको खाद्यन्न वितरण गरेको हो ।
माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अगमकुमार राई (धनकुमार)को नेतृत्वको टोलीले काठमाडौंको चावहिल, कपन, तिनचुली, बौद्ध, जोरपाटी, थली, नयाँपाटी, नयाँबस्ती, हात्तिगौडा, भङ्गाल, धापासीलगायतको ठाउँमा राहत वितरण गरेको हो ।
गाउँपालिकाले समस्यामा परेका गाउँपालिकाबासीलाई उद्धार तथा राहत वितरणको शिलशिलामा मंगलबार करिब २ सय जनालाई राहत वितरण गरिएको वडा नम्बर १ का वडा अध्यक्ष राईले जानकारी दिए । सो विवरणमध्यपनि प्राथमिकताका आधारमा विद्यार्थी, दैनिक ज्यालामजदुरी गर्ने मजदुर, अपांग, एकल महिला, बृद्धबृद्धा तथा अति विपन्नहरुलाई राहत वितरण गरिएको वडा नम्बर १ का अध्यक्ष राईले जानकारी दिए ।
अध्ययन तथा रोजगारीको शिलशिलामा काठमाडौंमा बस्दै आएका अति विपन्न, अपांग, बृद्धबृद्धा तथा दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्दै आएका गाउँपालिकाबासीलाई प्राथमिकताको आधारमा राहत वितरण कार्य अघि बढाइएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए । यस्तो संकटमा अध्ययन तथा विभिन्न पेशा व्यवसायको शिलशिलामा गाउँपालिकाबाहिर रहेका आफ्नो नागरिकहरुको दुखमा साथ दिनु गाउँपालिकाको दायित्वबोध गर्दै राहत तथा उद्धार कार्यक्रम अघि बढाइरहेको र आगामी दिनमा अवस्था हेरेर थप कार्यक्रम तय गरिने जानकारीसमेत अध्यक्ष राईले दिए ।
गाउँपालिकाले सातै वडाबाट समन्वयकर्ता तोकेर राहतको लागि विवरण संकलन गरेको थियो । गाउँपलिकाले पहिलो चरणको सहयोग कार्यक्रमअन्तर्गत यसअघि ६ सय जनाभन्दा बढिलाई गाडिबाट गाउँ फर्काएर उद्धार गरेको थियो ।