याक तथा चौरीपालन व्यवसायीको प्रथम भेला असोज २१ गते सोलुखुम्बुमा
काठमाडौँ – याक तथा चौरीपालन व्यवसायीको प्रथम ऐतिहासिक भेला सोलुखुम्बुमा हुने भएको छ । हिमाली क्षेत्रको पर्यटन, आर्थिक उपार्जन र इतिहाससँग जोडिएको याक तथा चौरीपालन व्यवसायिक रूपमा अघि बढाउने उद्देश्यले असोज २१ गते हिमाली बहुउद्देश्यीय याक तथा चौरीपालन समूहले भेला गर्न लागेको हो ।
हिमाली तथा लोपोन्मुख चौरीपालनलाई आधुनिकीकरण गर्दै बेरोजगार युवालाई आकर्षित गराउने उद्देश्यले भेला आयोजना गर्न लागेको कार्यक्रम संयोजक नुरु शेर्पाले जानकारी दिनुभयो ।
स्थानीय तथा विश्व बजारमा गुणस्तरयुक्त दुग्धजन्य वस्तुहरूको आपूर्ति गर्ने, याक तथा चौरी पालनमार्फत पर्यटन प्रवर्धन गर्ने र सम्पूर्ण चौरीपालकलाई संगठित गरी उनीहरूको हकहित तथा अधिकारका लागि आवाज बुलन्द गर्ने भेलाको योजना रहेको शेर्पाले बताउनु भयो ।
भेलामा प्रतिनिधिसभाका सदस्य हेमकुमार राई ‘सुरवीर’को प्रमुख आतिथ्य तथा प्रदेश १ का सांसद बुद्धिकुमार राजभण्डारी र उत्तम बस्नेतको विशेष आतिथ्य रहनेछ । सोलुदूधकुण्ड नगरपालिकाको होटल धौलागिरीमा हुने भेलामा चौरीपालन व्यवसायसम्बन्धी कार्यपत्र समेत प्रस्तुत गर्ने जनाइएको छ ।
संयोजक शेर्पाले सम्पूर्ण याक तथा चौरीपालन व्यवसायीलाई भेलामा उपस्थित हुन अनुरोध गर्नुभयो ।
yohokhabar