साल्पासिलिछो साँस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव-२०८३” भब्यताका साथ सम्पन्न
काठमाडौं / साल्पासिलिछो साँस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव-२०८३ भब्य रुपमा सम्पन्न भएको छ। साल्पासिलिछो गाउँपालिका र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको आर्थिक सहयोग तथा साल्पा संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास केन्द्र, साल्पासिलिछो भोजपुरको आयोजनामा बैशाख १८ गते साल्पासिलिछोस्थित माबु बजारमा सो महोत्सव सम्पन्न भएको हो ।
साल्पा संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास केन्द्रको अध्यक्ष प्रमोद राईको अध्यक्षता तथा राष्ट्रिय गानका रचनाकार प्रदीप कुमार राई (व्याकुल माईला) को प्रमुख आतिथ्यतामा महोत्सव -२०८३, सम्पन्न भएको हो। महोत्सवमा विशिष्ट अतिथिको रुपमा साल्पासिलिछो गाउँपालिका चौकीडाँडा भोजपुरका अध्यक्ष दौलथ कुलुङ र उपाध्यक्ष अस्मिता कुलुङको उपस्थिति रहेको थियो भने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणि राम खतिवडा र अन्य विशिष्ट व्यक्तिहरुको बाग्लो उपस्थिति रहेको थियो।
नेपाल सरकारद्वारा घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्य स्थलको रुपमा सुचिकृत तथा कोशी प्रदेश-सरकारको पर्यटकीय गौरवको आयोजना अन्तर्गत विश्वकै एक सुन्दर, शान्त र मनोहर एक पदमार्ग = मुन्दुम पदमार्ग साथै पदमार्गको गन्तव्यमा ऐतिहासिक, साँस्कृतिक, धार्मिक तथा पर्यटकीय स्थल साल्पा पोखरी र सिलिछो/सिलुछो क्षेत्रको संस्कृति, साहित्य र प्रकृतिको संरक्षण तथा मुन्दुम/रीदुम पदमार्गको प्रवर्द्धन गरी, पदमार्गसँग जोडिएका विभिन्न जिल्ला र सम्बन्धित गाउँपालिकाहरुको सामाजिक, आर्थिक विकास गरी, आम नागरिकलाई स्व-रोजगारको सृजना गर्दै, गरिवी निवारण गर्ने प्रमुख उद्देश्यका साथ साँस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव आयोजना गरिएको साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङले जानकारी दिएका छन्।
महोत्सव सफल बनाउन तथा साल्पाको दर्शन गर्न भोजपुर, सोलुखुम्बु, खोटाङ, संखुवासभा, झापा, मोरङ, सुनसरी, काठमाडौं, पोखरा तथा छिमेकी राष्ट्र सिक्किम भारत लगायतका क्षेत्रबाट तिर्थालु भक्तजनहरूको भव्य उपस्थिति रहेको थियो भने सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका, भोजपुरको साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिका र संखुवासभाको सिलिचोङ गाउँपालिकाबाट धामीझाँक्रीहरुको व्यापक रुपमा उपस्थिति रहेको थियो।
महोत्सवमा मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकी, उपाधयक्ष कृष्णप्रसाद चापागाई, सचिव भरत कुलुड, सह-सचिव सनम थापा, सदस्य राजेन्द्र सरवहारा निरौला, सदस्य तारानाथ पोखरेल साथै संखुवासभा साहित्यिक समाजका अध्यक्ष बीरेश राई लगायतले साल्पा र सिलिछोबारे सृजना गरिएका कविता वाचन गरेका थिए।
साल्पा पोखरी र सिलिछो (सिलुछो)को विषयमा विगतका दिनहरुमा विभिन्न लेख-रचना तथा साहित्य सृजना गरी, विविध गीत-संगीत र साहित्यको माध्यमबाट साल्पा र सिलिछोलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान गर्ने ४ जना सर्जकहरु भरत कुलुङ, अजय अलङकार कुलुङ, हेमराज थुलुङ र युमन खालिङलाई महोत्सवको अवसरमा सम्मान गरिएको थियो । महोत्सवमा कुलुङ धामीझाँक्रीहरुद्वारा कुलु रीदुम अर्थात् मुन्दुम प्रदर्शन, विभिन्न जातजातिको झाकी प्रदर्शन तथा किराती पौराणिक/मौलिक गीत सै राजा सैसै, सै रानी सैसै गाएर महोत्सवलाई थप रौनक तथा ऐतिहासिक बनाउन सफल भएको थियो ।


