सगरमाथा क्षेत्रबाट अज्ञात आरोहीको शव उद्धार
काठमाडौं / नेपाल पर्वतारोहण संघ (एनएमए) ले सगरमाथा क्षेत्रबाट एक अज्ञात आरोहीको शव सफलतापूर्वक उद्धार गरेको जनाएको छ।
एनएमएका अनुसार सगरमाथा जाने मुख्य मार्गअन्तर्गत खुम्बु आइसफल क्षेत्र नजिक, बेस क्याम्पबाट क्याम्प १ जाने क्रममा उक्त शव फेला परेको थियो ।
आइसफल डाक्टरहरूको नियमित मार्ग व्यवस्थापनका क्रममा भेटिएको शव आधा हिउँले पुरिएको अवस्थामा मुख्य बाटोमै रहेकाले सुरक्षा र वातावरणीय दृष्टिले जोखिमपूर्ण बनेको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागको निर्देशनपछि एनएमएले तत्काल उद्धार कार्य सुरु गरेको थियो । अनुभवी शेर्पा टोलीले अप्रिल २९ मा शवलाई हिउँबाट निकालेर सुरक्षित रूपमा बेस क्याम्पसम्म ल्याएको थियो।
अप्रिल ३० मा हेलिकप्टरमार्फत लुक्ला लैजाने प्रयास खराब मौसमका कारण असफल भए पनि शुक्रबार दोस्रो पटकको प्रयास सफल भएको थियो । त्यसपछि शवलाई लुक्ला पुर्याएर स्थानीय प्रहरीमार्फत पोस्टमार्टम गरिएको थियो।
आज शनिबार बिहान उक्त शव काठमाडौं ल्याई शिक्षण अस्पतालमा थप परीक्षण तथा पहिचानका लागि राखिएको एनएमएले जनाएको छ। हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन । डीएनए परीक्षणलगायत विधिबाट पहिचान गर्ने प्रयास भइरहेको छ ।
यस उद्धार कार्यमा नेपाल पर्यटन बोर्ड र सगरमाथा प्रदूषण नियन्त्रण समिति लगायतका निकायहरुको सहकार्य रहेको जनाइएको छ।
घटनाबारे थप विवरण क्रमशः सार्वजनिक गरिने एक विज्ञप्तिमार्फत जनाएको छ।

