Logo

‘पठाओ’ र ‘टुटल’ जस्तै अब गाउँमा ‘कल बाइक’


काठमाडौं उपत्यकामा सञ्चालित ‘पठाओ’ र ‘टुटल’ जस्तै हलेसीमा ‘कल बाइक’ सुरु गरिने भएको छ । मोबाइल एप प्रयोग गरेर भाडामा यात्रु बोक्न पाइने ‘पठाओ’ र ‘टुटल’जस्तै हलेसी महादेवस्थान विकास समितिले ‘कल बाइक’ सेवा सुरु गर्न लागेको हो ।

‘पठाओ’ र ‘टुटल’ मोबाइल एपबाट सञ्चालित भए पनि ‘कल बाइक’का लागि सेवाग्राहीले टेलिफोन गर्नुपर्नेछ । ‘कल बाइक’ सेवा लिनेले सडकको दूरीअनुसार भाडा बुझाउनुपर्ने हलेसी महादेवस्थान विकास समिति अध्यक्ष टंक राईले जानकारी गराए । ‘कच्ची र पक्की सडकको भाडा फरक–फरक हुनेछन्,’ अध्यक्ष राईको भनाइ छ, ‘पठाओ र टुटल एपको सहयोगमा चल्छ भने ‘कल बाइक’ कलबाट चल्छ । त्यसैले सेवाको नाम ‘कल बाइक’ राखिएको छ । कल बाइक अर्थात् बाइक बोलाउनूस् ।’

‘कल बाइक’ सञ्चालनार्थ प्रक्रिया अघि बढिसकेको छ । ‘सेवामा सहभागी हुन चाहने मोटरसाइकल चालकले बाइक दर्ता गरिरहेका छन्,’ उनले सुनाए, ‘भाडा निर्धारणका लागि अन्तिम तयारीमा छौं ।’

संवत् २०७२ मा भारतले नाकाबन्दी गर्दा काठमाडौं उपत्यकामा ‘लिफ्ट कल्चर’ चर्चा गर्न योग्य बनेको थियो । मोटरसाइकलमात्रै होइन, कतिपय समाजसेवीले निजी यातायात साधनमा समेत ‘लिफ्ट’ दिएर सहयोग गरेका थिए । त्यतिबेलाको ‘लिफ्ट कल्चर’ सञ्चारमाध्यमले प्राथमिकतासाथ प्रकाशन तथा प्रसारण गरेका थिए ।

खोटाङमा समेत विनाशुल्क ‘लिफ्ट कल्चर’ले प्राथमिकता पाएको छ । विनाशुल्क ‘लिफ्ट’ लिनेले मोटरसाइकल चालक र गन्तव्यमा पुग्ने यात्रुको यात्रा गर्ने गन्तव्य मिल्नुपर्छ । नत्र विनाशुल्कका ‘लिफ्ट कल्चर’ प्रभावकारी हुँदैन । तर, समितिले सञ्चालनमा ल्याउन लागेको ‘कल बाइक’ सेवा ‘पेइङ लिफ्ट कल्चर’ जस्तै हो ।

‘पेइङ लिफ्ट कल्चर’ले मोटरसाइकल चालक र यात्रु दुवै लाभान्वित हुनेछन् । ‘कल बाइक’ मा जोडिनेले रोजगारी पाउनेछन् भने आफूले चाहेको ठाउँसम्म पुग्न चाहने यात्रु सजिलै गन्तव्यमा पुग्न सक्छन् ।

खोटाङमा छोटो दूरीमा गुड्ने यातायात साधन सीमित छन् । छोटो दूरीमा गुड्ने यातायात साधन निश्चित समयमा मात्रै गुड्छन् । त्यसो भएकाले कामविशेषले गन्तव्यमा पुग्नुपर्ने यात्रुलाई हिँड्नुको विकल्प छैन । त्यस्ता यात्रुलाई ‘कल बाइक’ कामयावी बन्नेछ ।

त्रिधार्मिक (धाम) हलेसी आइपुगेकालाई दृष्टिगत गर्दै ‘कल बाइक’ सेवा सञ्चालनमा ल्याउन लागिएको समितिले जनाएको छ । उनीहरूले खोटाङका जुनसुकै ठाउँ जान यो सुविधा प्रयोग गर्न सक्नेछन् ।

बंगलादेशमा अत्यधिक लोकप्रिय बनेको ‘पठाओ’ दुई वर्षअघि नेपाल भित्रिएको थियो । यसैगरी, भारतीय नाकाबन्दीताका काठमाडौंमा विकसित ‘लिफ्ट कल्चर’लाई व्यावसायिक प्रयोजनका रूपमा ‘टुटल’ सेवा अघि सारिएको थियो । काठमाडौं उपत्यकावासी सेवाग्राही ‘पठाओ’ र ‘टुटल’ दुवैदेखि लाभान्वित भएको अवस्थामा हलेसीमा समेत ‘कल बाइक’ सेवा सुरु हुँदा यातायात साधन नभएकाहरू त्यत्तिकै लाभान्वित हुनेछन् ।

tuwachung.com

प्रकाशित मिति : आईतवार, २५ माघ २०७७ १२:२३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ