Logo

खुवालुङमा नागरिक अभियन्ताको प्रदर्शन


काठमाडौं । तमोर, अरुण र दूधकोशीको संगमस्थलमा रहेको किरात समुदायको साँस्कृतिक स्थल खुवालुङ पुगेर नागरिक अभियन्ताले सोमबार प्रदर्शन गरेका छन् ।

सप्तकोशीमा जहाज चलाउने भन्दै किरात समुदायको साँस्कृतिक बिम्ब खवालुङ ढुंगा फुटाउने सरकारी कदमको विरोधमा प्रदर्शन गरिएको हो । बृहत् नागरिक आन्दोलन, आदिवासी जनजाति साहित्यकार महासंघ तथा सम्पदा संरक्षणकर्मी खुवालुङ ढुङ्गा रहेको स्थानमा पुगेर विरोध गरेका हुन् ।

किरात सभ्यता र मुन्धुमका मिथक जोडिएको उक्त ढुंगा उदयपुर, धनकुटा र भोजपुरको सीमानामा पर्छ । वराह क्षेत्र नजिकै रहेको खुवालुङ क्षेत्रमा किरात समुदायले पूजा तथा अनुष्ठान गर्दै आएका छन् ।

८ फागुनमा विराटनगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त ढुंगा फुटाएर भए पनि कोशीमा जहाज चलाइ छाड्ने उद्घोष गरेका थिए ।

यसैको विरोधमा सोमबार गरिएको प्रदर्शनमा बोल्दै साहित्यकार एवं आदिवासी जनजाति साहित्यकार महासंघका संयोजक राजन मुकारुङले विकासको नाममा संस्कृतिमाथि धावा बोल्ने हरेक शासकविरुद्ध जनता उभिने बताए ।

मुकारुङले भने, ‘किरातहरूको सांस्कृतिक बिम्बका रुपमा रहेको खुवालुङलाई राज्यले ढुंगाको रुपमा मात्रै नदेखोस् ।’

यस्तै बृहत् नागरिक आन्दोलनका अभियन्ता बच्चु हिमांशुले राज्यले आदिवासी, जनजातिहरूको संस्कृतिमाथि बारम्बार प्रहार गरिएको भन्दै आक्रोश पोखे । उनले भने, ‘कतै रंगशालाको नाममा, कतै पानीजहाज त कतै मन्दिरको नाममा आदिवासीमाथि दमन गरिएको छ ।’

यस्तै खुवालुङ बचाउ समितिकी सचिव दिला राईले स्थानीय जनताको आस्था र भावना मिचेर सरकारले खुवालुङ ढुंगा फुटाउन लागेको बताइन् । उनका अनुसार बहुसंख्यक स्थानीय ढुंगा फुटाउन नमिल्ने पक्षमा छन् ।

विरोध कार्यक्रममा पूर्वी नेपालका विभिन्न स्थानबाट लेखक, कलाकार, विद्यार्थी अभियन्ता तथा संस्कृतिकर्मीको उपस्थिति थियो ।

स्थानीय इन्द्रहाङ खम्बुका अनुसार खुवालुङको शाब्दिक अर्थ पानीमा रहेको ढुगो भन्ने बुझिन्छ । किरातका पूर्खाहरू यही ढुंगालाई केन्द्र मानेर अरुण, तमोर, दुधकोशी, सुनकोशी क्षेत्रतिर प्रवेश गरेको इतिहास रहेको खम्बुले बताए ।

प्रकाशित मिति : सोमबार, २४ फाल्गुन २०७७ २२:२१
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ