Logo

गोपाल किराँती र सन्ध्या तिवारीले पार्टीको नाम परिवर्तन गर्नुपर्ने


काठमाडौं । निर्वाचन अयोगले गोपाल किराँती नेतृत्वको माओवादी केन्द्र र सन्ध्या तिवारी नेतृत्वको नेकपा एमाले पार्टीको नाम परिवर्तन गर्न सुझाएको छ। अब गोपाल किराती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमाले खारेज भएको छ ।

मंगलबार बसेको निर्वाचन आयोगको बैठकले किरातीको पार्टीको नाम र चुनाव चिह्न पनि नरहेको भन्दै १५ दिनभित्र पार्टीको नयाँ नाम र चुनाव चिह्न पेश गर्न निर्वाचन आग्रह गरेको छ ।

निर्वाचन आयोगले तिवारीलाई भने आयोगले पार्टीको नयाँ नाम पेश गर्न भनेको छ र उनको पार्टीको चुनाव चिह्न कायम राखेको जानकारी गराएको छ । यसअघि गोपाल किराँतीको नाममा रहेको नेकपा माओवादी केन्द्रलाई नयाँ नाम र चुनाव चिन्ह तथा सन्ध्या तिवारीको नाममा रहेको नेकपा एमालेलाई नयाँ नाम प्रस्ताव गर्न निर्वाचन आयोगले सुझाएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकरणको खारेज भएसँगै साविक नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा जाने भएपछि निर्वाचन आयोगले यस्तो आग्रह गरेको हो । मंगलबार एक विज्ञप्ति निकाल्दै पछि दर्ता भएका किराँतीको माओवादी केन्द्रले नाम र चुनाव चिन्ह र सन्ध्या तिवारी नेतृत्वको एमाले पार्टीको नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र आयोगमा सुधारसहितको विवरण पेश गर्नुपर्ने आयोगले जानकारी गराएको छ ।

आयोगले सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले एमाले र माओवादी एकीकरण भइ बनेको (ने क पा) दलको उत्प्रेषणको आदेशले बदर भइ दुवै राजनीतिक दल अलग अलग दलका रुपमा साविककै अवस्थामा कायम रहने भन्दै एकीकरणपछि दर्ता भएका पार्टीसँग पुरानै पार्टीको नाम र चुनाव चिन्हसँग मिल्ने भएपछि उनीहरुलाई नयाँ नाम र चुनाव चिन्ह पेश गर्न जानकारी गराएको हो ।

प्रकाशित मिति : मंगलवार, २५ फाल्गुन २०७७ २२:२१
प्रतिक्रिया दिनुहोस्