Logo

ओली पक्षको चियापान, नेपाल पक्षको पत्रकार सम्मेलन !


नेकपा एमालेभित्रको विवाद मिल्नुको साटो थप उत्कर्षतिर पुग्दै गर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

ओलीले सरकारी निवास बालुवाटारमा बिहान ११ बजे पार्टीका केन्द्रीय नेताहरुलाई बोलाइएको छ । तर सो चियापानमा माधव नेपाल पक्षको भने सहभागी नरहने भएको छ ।
मोबाइल एसएमसमार्फत उनले निम्तासहितको सन्देश पठाएपनि चियापान कार्यक्रममा नजाने नेपाल पक्षले जनाएको छ ।

सोमबार मात्रै एमालेका दुई समूहबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको थियो । तर सो छलफलमा कुनै समझदारी नभएको र नेपाल समूहले आफ्नो पूर्वनिर्धारित कार्यक्रम नरोक्ने स्पष्ट पारेको छ ।
नेपाल समूहले बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी गरेको छ ।

यसैबीच सो भेलाबारे जानकारी दिन नेपाल समूहले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

माधव नेपाल पक्षका नेता योगेश भट्टराईले चैत ४ र ५ गते आयोजना गरिएको राष्ट्रिय भेलाका सन्दर्भमा हेरिटेज गार्डेन् सानेपामा पत्रकार सम्मेलन राखिएको जानकारी दिए ।

सर्वोच्चको फागुन २३ को फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै नेपाल समूह एमाले फर्किएपनि ओलीले एकपक्षीय रुपमा पार्टीका अध्यक्ष र महासचिवबाहेकका पदाधिकारी खारेज गर्दै आफू निकटकालाई विभिन्न विभागमा जिम्मेवारी समेत दिएपछि पार्टीमा थप विवाद चर्किएको हो ।

प्रकाशित मिति : मंगलवार, ३ चैत्र २०७७ ११:१३
प्रतिक्रिया दिनुहोस्