कीर्तिमानी गोलकर्ता रोनाल्डो गोल्डेन बुटको होडमा पनि अघि
काठमाडौं । युरोकप २०२० मा समूह चरणका खेलहरु सकिएका छन् । नकआउट चरणमा पुग्ने सबै १६ टिमको टुङ्गो लाग्नेछ । अब शनिबारदेखि अन्तिम १६ का खेलहरु हुनेछ ।
समूह चरणमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सर्वाधिक ५ गोल गरे । उनले यस युरोकपमा मात्र सर्वाधिक गोल गरेका होइनन् अन्य तीन कीर्तिमानसमेत बनाएका छन् । साथै रोनाल्डो युरोकपको गोल्डेन बुट होडमासमेत अघि छन् । रोनाल्डोले दोस्रो स्थानमा रहेका खेलाडीभन्दा २ गोल बढी गरिसकेका छन् । अब पोर्चुगलले कहाँसम्मको यात्रा तय गर्नेछ त्यसैमा रोनाल्डोको गोल्डेन बुटको दाबेदारी निर्भर हुनेछ ।
ग्रुप अफ डेथ मानिएको समूह एफमा रोनाल्डोले तीनवटै खेलमा गोल गरे । जसमध्ये उनले हंगेरीविरुद्ध दुई, जर्मनीविरुद्ध एक र फ्रान्सविरुद्ध दुई गोल गरे ।
बुधबार राति फ्रान्सविरुद्ध २-२ को बराबरी खेल्दा उनले दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने इरानका पूर्वखेलाडी अली दाईको कीर्तिमान बराबरी गरे । दुवैले राष्ट्रिय टिमका लागि समान १०९ गोल गरेका छन् ।
पोर्चुगल नकआउट चरणमा पुगेकोले रोनाल्डोले यस कीर्तिमान पनि आफ्नो नाममा बनाउने सम्भावना बाँकी छ ।
यस्तै फ्रान्सविरुद्धको पहिलो गोलपछि उनले दुई ठूला प्रतियोगिता विश्वकप र युरोकपमा गरेर संयुक्तरुपमा सर्वाधिक गोल गर्ने जर्मन लेजेण्ड मिरोस्लोभ क्लोजको कीर्तिमान तोडे । क्लोजले विश्वकप र युरोकपमा गरेर १९ गोल गरेका थिए । रोनाल्डोले पहिलो गोल गरेपछि गोलसंख्या २० पुर्याउँदै कीर्तिमान तोडे । उनले दोस्रो गोल गरेपछि समग्रमा २१ गोल पुर्याए । रोनाल्डोले युरोकपमा १४ र विश्वकपमा ७ गोल गरेका छन् ।
त्यसअघि जर्मनीविरुद्ध एक गोल गर्दै उनले क्लोजको कीर्तिमान बराबरी गरेका थिए ।
समूह चरणमा ५ गोल गर्दै युरोकपमा सर्वाधिक १४ गोल गरिसकेका रोनाल्डोले पहिलो खेलमै मिचेल प्लाटनीको कीर्तिमान तोडेका थिए । युरोकप सुरु हुनुअघि प्लाटिनी र रोनाल्डो समान ९ गोल थियो । रोनाल्डोले हंगेरीविरुद्ध पहिलो गोल गरेपछि नै प्लाटिनीको कीर्तिमान तोडेका थिए ।
सन् २००४ मा घरेलु मैदानमा युरोकपमा डेब्यु गरेका रोनाल्डोले लगातार पाँच संस्करण युरोकप खेल्ने र पाँचवटै संस्करणमा गोल गर्ने पहिलो र एक मात्र खेलाडी हुन् ।
तथ्याङ्कमा रोनाल्डोको कीर्तिमान
युरोकपमा सर्वाधिक गोलकर्ता : १४ गोल
विश्वकप + युरोकपमा सर्वाधिक गोलकर्ता : २१ गोल
अन्तर्राष्ट्रिय फुटबलमा संयुक्त रुपमा गोलकर्ता : १०९ गोल