सल्लेरी क्षेत्रमा महिनौंदेखि फोहोर नउठ्दा सङ्क्रमणको त्रास
सदरमुकाम सल्लेरी क्षेत्रको सुन्दरतामा ध्यान दिनुपर्ने स्थानीयवासीले बताएका छन् । बजार क्षेत्रमा निस्कने फोहर महिनौं दिनसम्म बीच सडकमै थुपार्दा दुर्गन्ध फैलिएको छ भने अव्यवस्थित रुपमा टाँगिएका तार, पाइप तथा पोलका कारण यस क्षेत्रको सौन्दर्यमा असर परिरहेको छ ।
बजार क्षेत्रमा थुपारिएको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएसँगै सङ्क्रमणको त्रास बढेको स्थानीयवासी राजीव कायस्थले बताए । यस बारेमा नगरपालिकामा पटकपटक जानकारी गराउँदा समेत कुनै पहल नभएको अर्का स्थानीयवासी मीनकुमार श्रेष्ठले बताए । फोहोर नउठ्दा नाक, मुख थुनेर हिंड्न बाध्य हुनु परेको भएको उनको भनाइ छ । गर्मी समय भएकाले कुहिने फोहोरका कारण बजार क्षेत्र दुर्गन्धित बनेको छ ।
विगतका दिनमा नगरपालिकाले गाडीबाट बजार क्षेत्रमा जम्मा हुने फोहर सङ्कलन गरी व्यवस्थापन गर्ने गरेको भएपनि लामो समयदेखि सो कार्य रोकिएको स्थानीयवासीको भनाइ छ । यससम्बन्धी गुनासो आएकाले तत्काल फोहोर व्यवस्थापन गरिने नगरपालिकाकी महिला कार्यकर्ता मुना खत्रीले बताइन् । चालक र सरसफाइकर्मीमा कोरोना सङ्क्रमण देखिएका कारण लामो समयसम्म फोहोर उठ्न नसकेको बताउँदै उनले छिटै समस्या समाधान हुने बताए ।
अव्यवस्थित तार, पाइप र पोल तत्काल व्यवस्थापन गरिने
सल्लेरी बजार क्षेत्रमा विभिन्न प्रयोजनका लागि तानिएका तार, पोल र खानेपानीका पाइपले सदरमुकामको सौन्दर्यता गुम्दै गएको छ । स्थानीय सरकारले बजारको सौन्दर्यता वृद्धि गर्ने भन्दै घर टहरादेखि कौसीसमेत हटाएको भएपनि पाइप तथा तार व्यवस्थापनमा ध्यान नदिँदा समस्या भएको नगरवासीको भनाइ छ ।
सडक माथिबाट घरघरमा खानेपानीको पाइप तानिएको छ भने सडक क्षेत्रको घरघर हुँदै टाँगिएका टेलिफोन तथा इन्टरनेटको तारका कारण बजारको सौन्दर्यमा नै असर परेको सल्लेरीका पेम्बा शेर्पाले बताए । ती तार तथा पाइप भूमिगत गर्न सकिने भएपनि सडक ढलान गर्दा समेत उक्त कार्य नगरिनु दुःखद् भएको शेर्पाको भनाइ छ । नगरपालिका घोषणा भएपछि नै आबाडाँडादेखि नयाँ बजारसम्म करीब दुई किलोमिटर सडक ढलान गरिएको छ । सो क्षेत्रमा रहेको तार र पाइपलाई भूमिगत गर्न सकिने सम्भावना भएपनि उक्त कार्य नभएको स्थानीयवासी बताउँछन् ।
सल्लेरी बजार क्षेत्रको भित्री सडकमा गाडिएका ठूलाठूला पोल तथा अव्यवस्थित तारका कारण सवारी दुर्घटनाको जोखिम समेत बढाएको अर्का यातायात व्यवसायी धनबहादुर विश्वकर्माले बताए । सदरमुकामको भित्री सडक खण्डमा जीपसमेत सञ्चालन गर्दा समस्या हुने गरेको छ ।
आगलागी वा अन्य आपत्कालीन अवस्थामा दमकललगायतका साधनहरु लैजान परेमा जेलिएका तार तथा सडक माथिबाट होचो गरी टाँगिएका पाइपका कारण समस्या हुने गरेको सल्लेरीका मनिकुमार राई बताउँछन् । अव्यवस्थित तारलाई हटाउन वा व्यवस्थापन गर्नेतर्फ नगरपालिकाले ध्यान नदिएको उनको गुनासो छ । सल्लेरी बजार क्षेत्रका कतिपय तारहरु जमीनबाटै मानिसले भेट्न सक्ने अवस्थामा छन् भने कतिपय तार बारम्बार भूईंमा लत्रिएको छ । वसन्त बजारका छिरिङ तामाङ सवारी साधनले बारम्बार टेलिफोनको तार चुँडाउँदा सञ्चार सम्पर्क विच्छेद हुने गरेको बताउँछन् ।
आगामी तीन महिनाभित्र व्यवस्थापनको काम सकिने नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले बताए । नगरपालिकाले नेपाल टेलिकमसँगको सहकार्यमा अव्यवस्थित तार तथा पोललाई हटाएर भूमिगत तथा फाइबरमार्फत विस्तारको काम शुरु गर्न लागेकाले केही महिना भित्रैमा समस्या समाधान हुने उनको भनाइ छ । खानेपानीका अव्यवस्थित पाइपहरू हटाउन तीन करोड बराबरको योजना सञ्चालन हुने चरणमा रहेकाले एक महिनाभित्र यो समस्या पनि नरहने उनले जानकारी दिए । रासस