उपत्यकाभित्र थप एक साता निषेधाज्ञा थपियो, सार्वजनिक सवारीलाई सिट क्षमता, जोरबिजोर र समय तोकेर चल्न दिने
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पार्दै १ हप्ता थपिएको छ । सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा केही खुकुलो पार्दै १ हप्ता थप्ने निर्णय गरेको हो ।
बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म चलाउन पाइने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा स्यानिटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी कायम हुनुपर्ने आदेशमा भनिएको छ । गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको थिएन ।
उपत्यकामा ट्याक्सी तथा निजी गाडी भने अघिल्लो हप्तादेखि नै सञ्चालनमा आइसकेका छन् । काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।