डिबी किरातीको सम्मानमा एमाले सोलुले ५ दिनसम्म आधा झण्डा झुकाउने र कुनैपनि औपचारिक कार्यक्रम नगर्ने

सोलुखुम्बुमा कम्यूनिष्ट पार्टी स्थापनाकालका संस्थापक ५ मध्येका एक नेता तथा सर्जक डिबी किरातीको निधनप्रति नेकपा (एमाले), सोलुखुम्बु जिल्ला कमिटीले शोक वक्तव्य जारी गरेको छ ।
‘क. डिबी किरातीले पहाडभन्दा पनि गह्रौ मृत्युवरण गर्नुभएको छ’ एमाले जिल्ला अध्यक्ष डुफकुमार बास्तोलाद्धारा हस्ताक्षरित शोक वक्तव्यमा भनिएको छ ‘उहाँको योगदानको स्मरण गर्दै समग्र जिल्ला कमिटी परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकको यस घडीमा जन्मपछिको मुत्युलाई शास्वत सत्यको रुपमा लिदै परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् ।’
सोही वक्तव्यमार्फत जिल्ला पार्टी र मातहतका सबै कार्यालयहरुमा पाँच दिनसम्म आधार झण्डा झुकाउने, पाँच दिनसम्म पार्टीको कुनैपनि औपचारिक कार्यक्रम नगर्ने र सबै कार्यालयहरुमा शोक पुस्तिका राखेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न अनुरोध पनि गरिएको छ ।
मस्तिष्कको नशामा देखिएको समस्याका कारण काठमाण्डौँ स्थित न्यूरो अस्पतालमा उपचारत किराँतीको गएराति नि’धन भएको परिवारलाई उदृत गर्दै एमाले नेचासल्यानका अध्यक्ष जगनाथ बास्तोलाले जानकारी दिए ।
शारिरीक कमजोरी महसुस गरेपछि नेचामै ३ दिन आराम गरेका किराँतीलाई समस्या बढ्दै गएपछि जिल्ला अस्पताल फाप्लु भर्ना गरिएको थियो । फाप्लुमा दुई दिनको उपचारपछि थप उपचारको लागि काठमाण्डौँ लगिएको थियो । करिब एक हप्ता आइसियूमै राखेर उपचार गरिएको उनको नर्मल वार्डमा सारिसकेपछि गएराति निधन भएको हो ।
सुगर र प्रेसरको समेत रोगी रहेका ६६ बर्षिय किराँतीको निधन अघि गरिएको कोभिड परीक्षणबाट रिर्पोट पोजेटिभ आएकाले अन्त्यष्टि कसरी गर्ने भन्नेबारे टुंगो लागेको छैन् ।
जन्मभूमि ओखलढुंगा, रुम्जाटारमा भएपनि सोलुखुम्बुको नेचासल्यान-२ सल्यानलाई कर्मभूमि बनाउदै आएका उनी राजनिति, साहित्य र कृषिमा सक्रिय थिए । संगठन जिम्मेवारीको हिसाबले पछिल्लो समय किराती एमाले प्रदेश नम्बर १ कमिटी सदस्यको भूमिकामा थिए ।