काठमाडौँ ५ बाट चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा
काठमाडौँ: रञ्जु दर्शनाले काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन् ।
रञ्जु दर्शनाले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गर्न पाउँदा हषिर्त भएको उल्लेख गरेकी छन् ।
“तपाईहरूले विभिन्न माध्यम बाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु ।” उनले लेखेकी छन्।
उक्त क्षेत्रमा जसपा अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले पनि लड्ने तयारीमा छिन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौँ क्षेत्रनम्बर ५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए । सोही क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रकाशशरण महत र विवेकशील नेपाली दलका स्वर्गीय उज्ज्वल थापालगायतका उम्मेदवारले पनि प्रतिस्पर्धा गरेका थिए ।
यस क्षेत्रमा काठमाडौँ महानगरपालिकाका वडा नं. २, ३, ४, ५, बुढानीलकण्ठ नगरपालिकाका वडा नं. ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६ र ७ पर्दछन् ।
