चुनावको सम्मुखमा प्रचण्ड सोलुखुम्बु आउँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो असोज ३ गते सोलुखुम्बु आउने कार्यक्रम तय भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सम्मुखमा प्रचण्ड सोलुखुम्बु आउन लाग्नुभएको हो ।
थुलुङ दुधकोशी गाउँपालिकाद्धारा नवनिर्मित ५० शैय्याको दुधकोशी सामुदायिक अस्पताल, गाउँपालिकाको प्रशासनिक पक्की भवन र थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयको मास्टर विल्डिङको एक साथ उद्घाटन गर्नका लागि अध्यक्ष प्रचण्ड यहाँ आउन लाग्नुभएको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।
उहाँकाअनुसार अध्यक्ष प्रचण्डसँगै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, प्रदेश नम्बर १ का अर्थमन्त्री ईन्द्र बहादुर आङ्बो ‘मौसम’, प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरबीर’लगायतको पनि उपस्थिति हुने कार्यक्रम तय भएको छ ।
अध्यक्ष राईले भनेका छन्, ‘सम्माननीय पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका श्रद्धेय अध्यक्ष क. प्रचण्ड ज्यूको प्रमुख आतिथ्यता, माननीय अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ज्यूको विशिष्ट उपस्थिति, १ नं. प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो ‘मौसम’ र सोलुखुम्बु जिल्लाका प्रतिनिधिसभा सदस्य माननीय हेम कुमार राई ‘सुरवीर’ ज्यूको विशेष उपस्थितिमा ५० शैय्याको दूधकोसी सामुदायिक अस्पताल, थुलुङ दूधकोसी गाउँपालिकाको प्रशासनिक भवन र थुलुङ दूधकोशी बहुप्राविधिक शिक्षालयको मास्टर विल्डिङ एकसाथ यहि असोज ३ गते उद्घाटन हुने जानकारी गराउदछु !’
गाउँपालिकाले आफ्नै पहलमा ५० शैय्याको दुधकोशी सामुदायिक अस्पताल निर्माण कार्य सम्पन्न गरेको हो । त्यस्तै गाउँपालिकाको सुविधासम्पन्न पक्की भवन र बहुप्राविधिक शिक्षालयको भवन पनि गाउँपालिकाले छोटो समयमै निर्माण गरेको हो ।
दीर्घकालिन महत्वका भौतिक संरचना निर्माण कार्य सम्पन्न गरी एकैपटक उद्घाटन गर्नेगरी तय गरिएको उक्त कार्यक्रम गाउँपालिकाको लागि मात्रै नभएर सिंगो जिल्लाकै लागि निक्कै महत्वका रुपमा हेरिएको छ । गाउँपालिकाले यस्ता भौतिक संरचनाका साथै थुप्रै तत्कालिन र दीर्घकालिन महत्वका योजनाहरु सम्पन्न गरिसकेको छ ।