Logo

माउन्टेन शेर्पा फाउण्डेशनद्धारा माप्यका १४० गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण


सोलुखुम्बु । माउन्टेन शेर्पा फाउण्डेशनले ग्रामिण क्षेत्रको शैक्षिक उन्नयनका लागि छात्रवृत्ति कार्यक्रम ल्याएको छ । पहिलो चरणको कार्यक्रमअनुसार सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका १ सय ४० जना विद्यार्थीहरुलाई निश्चित मापदण्ड बनाएर शैक्षिक छात्रवृत्ति वितरण गरेको हो ।

गाउँपालिकाको सातै वटा वडाका २०/२० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई वार्षिक १० हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गरिएको फाउण्डेशनका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिनुभयो ।
यो कार्यक्रम कम्तिमा ५ वर्षका लागि निरन्तर सञ्चालन गर्ने र यसको प्रभावकारिता र आवश्यकतालाई हेरेर थप कार्यक्रमका लागि योजना तयार गरिने उहाँले बताउनुभयो । यसअघि यहि गाउँपालिकामा स्वास्थ्य शिविर, विद्यार्थीहरुलाई झोला वितरणलगायतको कार्यक्रम गरिसकेको फाउण्डेशनले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा पनि काम गर्ने योजना बनाएको छ ।

छात्रवृत्ति छनोट तथा वितरण कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी एवं निष्पक्ष बनाउनका लागि फाउण्डेशनले प्रत्येक वडामा कार्यक्रम संयोजक तोकेर काम गरेको थियो । संयोजक तोकेर सम्बन्धित विद्यालय र निकायको सिफारिसका आधारमा वितरण गरिएको छात्रवृत्ति अत्यन्तै उत्साहमूलक र प्रभावकारी भएको भनाइ उहाँको छ ।

वडा नम्बर १ मा वडा अध्यक्ष सज्जन राई, वडा नम्बर २ का लागि गाउँपालिकाको कार्यपालिका सदस्य प्रकाश खालिङ, वडा नम्बर ३ मा उजिर कार्की, वडा नम्बर ४ का लागि वडा अध्यक्ष भक्त राई, वडा नम्बर ५ का लागि वडा अध्यक्ष अविरल वाईवा, वडा नम्बर ६ का लागि वडा अध्यक्ष रामप्रसाद मगर र वडा नम्बर ७ का लागि वडा अध्यक्ष सगुजित राईलाई संयोजन गर्ने जिम्मेवारी दिइएको थियो ।

सबै वडाको छात्रवृत्ति वितरण कार्यक्रममा अध्यक्ष शेर्पासँगै म्यानेजर विमला राउत र एसिस्टेन मिंमार शेर्पालगायतको प्रत्यक्ष सहभागिता रहेको थियो ।

शिक्षा, स्वास्थ्यका साथै विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको फाउण्डेशनले २०७२ सालको महाभुकम्पबाट पीडित विभिन्न जिल्लाका सयौंलाई राहत वितरण गरेको फाउण्डेशनले बाढीपहिरो पीडितहरुको पुनस्थापना गर्ने, स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक कार्य गरेको थियो ।

माप्य दुधकोशी गाउँपालिकाको वडा नम्बर ४ मा जन्मिनुभएका फाउण्डेशनका अध्यक्ष पासाङ शेर्पा पर्यटन क्षेत्रमा चिरपरिचत नाम हो । शेर्पा पर्यटन व्यवसायी संघ, नेपालको केन्द्रीय महासचिवसमेत रहनुभएका उहाँले यसअघि नै पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को केन्द्रीय सचिवका रुपमा रहेर काम गरिसक्नुभएको छ ।

माउन्टेन शेर्पा ट्रेकिङ कम्पनीका प्रबन्ध निर्देशक रहनुभएका उहाँको पदयात्रा व्यवसायको अलावा, रिसोर्ट, रियलस्टेटलगायतमा लगानी रहेको छ ।

प्रकाशित मिति : शनिबार, १३ जेष्ठ २०८० १९:१९
प्रतिक्रिया दिनुहोस्