Logo

थुलुङ दुधकोशी गाउँपालिकामा फलेको आलु दरबारमार्गमा बिक्रीवितरण


काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशीका गाउँपालिका वडा नम्बर ७, देउसामा उत्पादित सेतो आलु काठमाडौंको दरबारमार्गमा सुपथ मुल्यमा विक्री वितरण हुने भएको छ । गाउँपालिकाको कृषि एमबुलेन्सबाट ल्याइएको आलु आउँदो शनिबार दरबारमार्गस्थित रैथाने कृषि हाटबजारमा बिक्रीवितरण हुन लागेको हो । सो दिन गाउँपालिका अध्यक्ष असिम राईको उपस्थिति रहने बुझिएको छ ।

स्थानीय कृषकले उत्पादन गरेको कृषि जन्य उत्पादनलाई बढावा दिने कार्यक्रमका साथै कृषकको आवश्यकता अर्थात् उत्पादित बस्तुको बजारीकरण सहजीकरणका लागि गाउँपालिकाले अघिल्लो वर्ष कृषि एम्बुलेन्स खरिद गरेको थियो । त्यसपछि यहाँ उत्पादित कृषि उत्पादन स्थानीय बजारका साथै सदरमुकाम तथा काठमाडौंसम्म विस्तार भएको छ । सोही क्रममा गाउँपालिकाले निशुल्क रुपमा देउसाको आलु काठमाडौंसम्म ढुवानी गरी बजारीकरण गरेको हो ।

गाउँपालिकामा उत्पादित कृषि उपजलाई थप बृद्धि गर्ने तथा त्यसको बजारीकरण गरेर स्थानीय आम्दानी बढाउनका लागि यो काम गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।

आफ्नो पहिलो कार्यकालमा अनुदान र प्राविधिक सहयोग गरेको र अहिले उत्पादित कृषि उपजको बजारीकरणलाई तीब्रताका साथ अघि बढाइरहेको बताउँदै गाउँपालिका अध्यक्ष राईले भन्नुभयो ‘अहिले हामीले बजार खोजिदिने काम सुरु गर्यौ । किरानले त्यत्ति हुँदा पनि कृषि उपज बजारमा पुर्याउन नसकेर गाउँपालिका आफैंले खरिद गरी बजारमा लगेर बेचिदिन्छौं ।’

देउसासहित थुलुङ दुधकोशी गाउँपालिकाको बिभिन्न ठाउँमा फलेको अर्गानिक आलु प्रत्येक शनिबारको दिन बिहान ६ बजेदेखि १२ बजेसम्म दरबारमार्गको रैथाने हाटबजारमा तथा हरेक दिन काठमाडौंकै रैथाने एग्ग्री प्रोडक्टस नेपाल चप्पल कारखाना बाट पनि किन्न सकिने ब्यबस्था गरिएको गाउपालिकाका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार निशुल्क होमडेलिभरीको व्यवस्थासमेत गरिने छ ।

प्रकाशित मिति : मंगलवार, २३ श्रावण २०८० २१:४२
प्रतिक्रिया दिनुहोस्