रीड नेपालद्धारा माप्य दुधकोशी गाउँपालिकामा फस्ट एडसम्बन्धि चार दिने तालिम सञ्चालन
सोलुखुम्बु, ९ भदौं २०८० । रीड नेपालले माप्य दुधकोशी गाउँपालिकामा आधारभूत प्राथमिक उपचार (फस्ट एड) सम्बन्धि चार दिने तालिम सुरु गरेको छ । नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बुसँगको सहकार्यमा गाउँपालिकाको सभाहल खास्तापमा सञ्चालित उक्त तालिमको शनिबार गाउँपालिका उपाध्यक्ष गौरब राईले उद्घाटन गर्नुभएको हो ।
गाउँपालिका उपाध्यक्ष राईले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय स्तरमा अति आवश्यकता खड्किरहेको बेला गाउँपालिकाको चालु आर्थिक वर्षको पहिलो कार्यक्रमकै रुपमा आयोजित यस तालिम निक्कै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँमा अनेक खालका विपद तथा समस्याहरु उत्पन्न हुँदा दक्ष जनशक्ति र जनचेतनाको अभाव भइरहेको सन्दर्भमा यो कार्यक्रम सञ्चालन गरेकोमा रीड नेपाल र प्रशिक्षकको रुपमा सहभागि रेडक्रस सोलुखुम्बुको टिमप्रति आभार प्रकट गर्नुभयो । उहाँले तालिमका सहभागिहरुलाई विषय वस्तुप्रति ध्यान दिएर सिक्न र सिकेको कुरा जीवन व्यवहारमा लागु गर्न आग्रहसमेत गर्नुभयो ।
स्थानीय आवश्यकतालाई ध्यानमा राखेर प्राथमिक उपचारक उत्पादन गर्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको रीड नेपालको जलवायु परिवर्तन अनुकुलनताको लागि सोलुखुम्बु युवा पहल कार्यक्रमका कार्यक्रम अधिकृत निरञ्जन रुपाखेतीले बताउनुभयो ।
चार दिनसम्म सञ्चालन हुने तालिममा घाइते वा बेहोसीलाई कसरी प्राथमिक उपचार गर्ने, रक्तस्राव साथै विभिन्न दुर्घटनाजन्य जोखिमबाट ज्यान जोगाउने तरिका लगायतका विषयमा तालिम प्रदान गरिने उहाँले बताउनुभयो ।
तालिममा गाउँपालिकाभित्र क्रियाशिल आधार दर्जन बढि क्लब तथा संस्थाहरुको प्रतिनिधिमूलक सहभागिता रहेका छन् । नेपाल रेडक्रस सोसाइटी प्रदेश कमिटीका सदस्य पोकल दाहाल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुका मन्त्री दिपक राजभण्डारी प्रशिक्षकको रुपमा रहनुभएको छ ।