क्षतिग्रस्त दिप्लीघाट बेलिब्रिजको स्थलगत निरीक्षण गर्दै अध्यक्ष राईद्वारा प्रधानमन्त्री कार्यालयमा सिधै फोन
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईले कोशी पारिलाई सिधा सडक सञ्जालसंग जोड्ने कुरालाई गम्भीरतापूर्बक लिंदै त्यसका लागि आफुले सक्दो पहल गरिरहेको बताएका छन्।
लगातार आएको बर्षाका कारण गत बिहिवार आएको बाढीले क्षतिग्रस्त बनाएको दुधकोशी नदीको दिप्लीघाटस्थित बेलिबृज पुलको स्थल निरीक्षणपछि उपस्थित स्थानीय र यातायात ब्यबसायीहरुसंग अध्यक्ष राईले सो कुरा बताएका हुन्।
क्षतिग्रस्त बेलिबृज निरीक्षणका लागि अध्यक्ष राई आईतवार प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई, जिल्ला प्रहरी प्रमुख दिपक श्रेष्ठ, उपाध्यक्ष सबिता राई र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुसंग दिप्लीघाट पुगेका थिए।
स्थलगत निरीक्षणपछि अध्यक्ष राईले कोशी वारि र पारीको सम्बन्ध सेतुको काम गर्ने सो पुल पुनः निर्माण नगर्दा हजारौं नागरिकले सास्ती ब्यहोर्नुपरेको जानकारी गराउंदै सोही स्थानबाट प्रधानमन्त्री कार्यालयमा फोनमार्फत यथाशीघ्र समस्या समाधान गरिदिन आग्रह गरेका थिए।
थुलुङ दुधकोशी गाउँपालिका-८ दिप्लीघाट र सोताङ गाउँपालिका-१ खोर्दा जोड्ने सो बेलिबृजले कोशी पारिका सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकालाई सदरमुकाम सल्लेरी र राजधानी काठमाडौंसम्म पुग्न सीधा सडक सञ्जालसंग जोड्ने महत्त्वपूर्ण कडी बनेको थियो।
बेलिबृजमा क्षति पुगेपछि कोशी पारिका सोताङ र महाकुलुङ गाउँपालिकाको सडक सञ्जाल अबरुद्ध हुन पुगेको छ । जसका कारण ती गाउँपालिकाका हजारौं नागरिकले आवतजावतमा ठुलो समस्या झेल्नुपरेको छ ।
निरीक्षणका क्रममा सो स्थान पुगेका अध्यक्ष राईलाई प्रत्यक्ष भेटेर झण्डै ३० जना यातायात व्यवसायीले गाडी तार्ने बैकल्पिक व्यवस्था मिलाइदिन अनुरोध गरेको अध्यक्ष राईको सचिवालयले जनाएको छ।
बाढीले कामका लागि राखिएको एउटा स्काभेटरसहित जेनेरेटर लगायतको मेसिन बगाउनुका साथै बेलिबृजमा क्षति पुगेको खबर सुन्न साथ गाउँपालिका अध्यक्ष राईले त्यसलाई जोगाउने या सवारी संचालनका उपायको अध्ययन अनुसन्धान गर्न पालिकाबाट तत्काल इन्जिनियर, प्रमुख प्रसासकीय अधिकृत सहितको टोली परिचालन गरि अन्तरपालिका जोड्ने पुल भएकाले सोताङ र महाकुलुङ गाउँपालिका सँगपनि समन्वय गरेको राइईको सचिवालयले स्मरण गराएको छ ।
Rahasyakhabar