सोलुमा कोदो र फापरको केक, दुनोट बनाउने तालिम सञ्चालन
सोलुखुम्बु, ८ असोज । महिला उद्यमी संघ नेपाल सोलुखुम्बुले एक महिने बेकरी तालिम सुरु गरेको छ । आईतबारबाट फाप्लुमा तालिम सुरु भएको उक्त तालिममा स्थानीय उत्पादन (कोदो तथा फापरको पिठो, आटा) लगायतको केक, दुनोट लगायत ७ भन्दा बढी परिकार बनाउने सीप सिकाइने संस्थाका अध्यक्ष सारदा माया तामाङले जानकारी दिनुभयो ।
उहाँकाअनुसार दश दिन प्रयोगात्मक र सैद्धान्तिक दुबै कक्षा सञ्चालन हुने २० दिन प्रयोगात्मक मात्रै कक्षा सञ्चालन हुने बताइएको छ । तालिमको सहजिकरण केन्द्रीय तथा स्थानीय प्रशिक्षकहरुले गर्ने अध्यक्ष तामाङको भनाई छ । तालिममा जिल्ला भित्रका ३० जना महिलाहरुको सहभागिता रहेको छ ।
सहभागी ३० जना मध्ये उत्कृष्ट १५ जनालाई छनौट गरी थप ५ दिनको सैद्धान्तिक कोर्ष गराउने बताइएको छ ।
महिलाहरुलाई उद्यमी बनाई आर्थिक विकासमा सहभागी बनाउने कार्यक्रम अन्तरगत तालिम आयोजना गरिएको अध्यक्ष तामाङको भनाई छ । वर्तमान अवस्थामा समेत महिलाले उद्यम गर्ने भएतापनि आर्थिक स्वामित्त भने पुरुषमा सिमित हुनेगरेको भन्दै अध्यक्ष तामाङले यस्ता परिपाटीको अन्त्य गर्नको लागि महिला लक्षित कार्यक्रममा जोड दिइएको बताउनुभयो ।
आयोजकका अनुसार तालिम सञ्चालनका लागि आइएलओको आर्थिक सहयोग रहेको छ ।